सुनसरी, भदौ २३ । सुनसरीमा सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर एउटा समूहले हतियार र गोली लुटेको छ । चोरी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएका प्रहरी टोलीमाथि बर्जु गाउँपालिका–१ मा शुक्रबार राति आक्रमण भएको हो ।
घटनास्थल बर्जु–१ शुक्रबारे र विराटनगर महानगरपालिका–५ को सिमानास्थित सुनसरीतर्फ पर्छ । घटनास्थल आसपासका स्थानमा अत्यधिक चोरी र लुटपाट भइरहेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो।
उक्त एरियामा मोटरसाइकलमा यात्रा गर्नेलाई नियन्त्रणमा लिँदै हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको प्रहरीको भनाइ छ । त्यस सम्बन्धित सूचना संकलन गर्न र घटनालाई नियन्त्रणमा लिन प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई सादा पोसाकमा खटाइएको थियो । सुनसरी प्रहरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मी अनुसार परियार र चौधरी पुग्नासाथ अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेका थिए ।
सुरुमा काठको चिर्पटले प्रहार गरेर प्रहरीलाई घाइते बनाएर हतियार लुटेको उहाँको भनाई छ । ‘पछाडिबाट टाउकोमा चिर्पट प्रहार गरियो। त्यस क्रममा दुई पक्षबीच केहीबेर घम्साघम्सीसमेत भयो,’ एसपी रेग्मीले भन्नुभयो, ‘आक्रमणकारीको समूह ठूलो थियो । प्रहरी दुई जना मात्रै भएकाले त्यो समूहसँग भिड्नसक्ने अवस्था भएन।’ उहाँका अनुसार आक्रमण गरेर प्रहरीलाई घाइते बनाएपछि हतियार र गोली लुटेर उक्त समूह फरार भएका हुन ।
आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ । आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेका छन ।
घटनाको जानकारी पाउनसाथ उक्त गिरोहको खोजीका लागि विभिन्न प्रहरी युनिटबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा टोली परिचालन गरिएको थियो। अपराधिक गिरोहको खोजीका लागि इन्सपेक्टरहरु जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गजेन्द्र राया, इलाका प्रहरी कार्यालय दुहवीबाट मोहन पोखरेल र इलाका प्रहरी कार्यालय इटहरीबाट कैलाश चौधरीको नेतृत्वमा अलगअलग टोली परिचालन गरिएको छ ।
प्रहरीले घटनास्थल नजिकबाट लुटिएको पेस्तोलको छ राउण्ड गोली, म्यागजिन, गोलीको खाली खोका र कटुवा पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली बरामद गरेको छ । पेस्तोल भने अहिलेसम्म फेला परेको छैन । घटनाको अनुसन्धान एवं सोधपुछका लागि शंकास्पद पाँच जनालाई नियन्त्रणमा लिइएको छ ।
घटनालगत्तै कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले हतियारसहित सादा पोसाकमा एक्लै–दोक्लै प्रहरी परिचालन नगर्न निर्देशन दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्