काठमाडौं, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थालाई मुलुकको अभिभावकीय संस्थाका रूपमा अगाडि बढाउन आग्रह गर्नुभएको छ । ठूला दलहरूले अंगीकार गरेको दिल्लीमा भएको १२ बुँदे सम्झौताको बाटोबाट मुलुक दुर्घटनामा फस्ने निश्चित भएको जिकिर गर्दै उहाँले अब राजसंस्थालाई अभिभावकीय भूमिका दिनेगरी अघि बढ्नुपर्ने बताउनुभयो ।
आज काठमाडौंमा राप्रपाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था मुलुकका लागि हितकर हुने धारणा राख्नुभयो । ‘जनताको अधिकारका लागि हो भने संघीयताप्रति आपत्ति छैन । यो मुलुकका लागि भारी हुनु भएन। जनप्रतिनिधिको संख्यामा भारी मात्रामा कटौती गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
जनता खर्बौंको ऋणमा डुब्ने गरी जनप्रतिनिधिहरूको भार देशले थेग्न नसक्ने अध्यक्ष लिङ्देनको भनाइ छ । अध्यक्ष लिङ्देनले गौहत्या तत्काल रोक्न सरकारलाई सचेत गराउनुभयो । गाई, गोरु मार्छु भन्नेहरूलाई सरकारले नरोक्ने हो भने सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वन्द्व ल्याउने र राष्ट्रिय एकता खलबल पार्ने काम हुने भएकाले आफ्नो पार्टीले त्यसको प्रतिवाद गर्ने उनको चेतावनी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्