जनता टाइम्स

१८ आश्विन २०८०, बिहीबार १६:५०

प्रभावशाली नेतासहित एमाले प्रवेशपछि पूर्वमन्त्री कुशवाहाको घोषणा : मधेशमा अव माओवादी भन्ने पार्टी रहन्न


काठमाडौं, असोज १८ । नेकपा माओवादीका पोलिटब्यूरो सदस्य त्यागेर जनमत पार्टी प्रवेश गर्नुभएका पूर्वमन्त्री शिवचन्द्र कुशवाहा माओवादीका प्रभावशाली नेताहरुलाई साथमा लिएर एमाले प्रवेश गर्नुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीबाट खादा र महासचिव शंकर पोखरेलबाट अबिर लगाएर कुशवाहा आज पार्टी प्रवेश गर्नुभएको हो । कुशवाहाले आफूसँगै माओवादीका दुई गाउँपालिका अध्यक्षलाई पनि एमाले प्रवेश गराउनु भएको छ । पार्टी प्रवेशपछि बोल्दै पूर्वमन्त्री कुशवाहाले अव मधेशमा माओवादी भन्ने पार्टी सकिने ठोकुवा गर्नुभयो ।

‘बिगतमा एमाले पृष्ठभूमिबाट जति पनि साथीहरु माओवादीमा हुनुहुन्छ, उहाँहरु सवै एमालेमै फर्कने योजनामा हुनुहुन्छ, २०५४ सालमा माओवादी गएको म आज फर्किएँ, अव सवै साथीहरु फर्कनु हुन्छ,’ कुशवाहाले भन्नुभयो, ‘अव मधेश प्रदेश एमालेको लालकिल्ला बन्छ, माओवादी भन्ने पार्टी सकिन्छ, हामी सवै जिल्लामा एमालेलाई स्पष्ट बहुमतको पार्टी बनाउने गरी अभियान थाल्नेछौं ।’

कुशवाहले एमाले मात्र मुलुक र जनताको हितमा रहेको पार्टी भन्ने प्रमाणित भएकोले आफू २६ बर्षपछि पुरानो घर फर्किएको बताउनु भयो । कुशवाहाको नेतृत्वमा आज नेकपा माओवादी सुवर्ण गाउँपालिका कमिटीका अध्यक्ष तथा जिल्ला कमिटी बाराका सदस्य भगवान गिरी, महागडीमाई नपा अध्यक्ष तथा अखिल क्रान्तिकारी बारा जिल्ला उपाध्यक्ष सचिन कुशवाहा लगायत ६१ जना एमालेमा प्रवेश गर्नुभएको छ ।