जनता टाइम्स

१९ आश्विन २०८०, शुक्रबार १८:४३

एमालेको मिसन ०८४ भनेको एकल बहुमतको सरकार हो : इश्वर पोखरेल


काठमाडौं, असोज १९ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिसन २०८४ भनेको एमालेको एकल बहुमत भएको प्रष्ट पार्नुभएको छ ।

नेकपा एमाले उपत्यका प्रदेश विशेष कमिटीको प्रथम अधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले एमालेले अहिले मिसन ०८४ को कुरा गरिहरेको बताउँदै पोखरेलले मिसन २०८४ सँग मिसन फिप्टी वान पनि जोडिएको बताउनुभयो ।

२०८४ को निर्वाचनमा नेकपा एमालेले एकल बहुमत ल्याउने उद्देश्य राखेको उहाँले सुनाउनुभयो । ‘मिसन २०८४ हाम्रो यति बेलाको लक्ष हो, मिसन ०८४ सँग प्लस फिप्टी वान जोडिएको छ,’ पोखरेलले भन्नुभयो । उहाँले एमालेले इमान्दार र अनुशासित कार्यकर्ता बनाउनु पर्ने बताउनुभयो । बरिष्ठ उपाध्यक्ष पोखरेलले बाहिर हेर्दा एमाले देखिने तर भित्र खाली हुने स्थिति आउन नहुने सुझाव पनि दिनुभयो । पार्टीका नेताहरू पार्टीको काममा जोडिनु पर्ने बताउनुभयो ।

मुलुकमा राजनीतिक स्थिरता नहुँदा देश विकासको चाहन सफल नभएकोले त्यसको लागि राजनीति स्थिरता आवश्यक रहेको उहाँले बताउनुभयो । एमालेले बहुमत प्राप्त गरेपछि राजनीतिक स्थिरता कायम हुने उहाँले प्रष्ट पार्नुभयो ।