जनता टाइम्स

२१ आश्विन २०८०, आईतवार ०८:२८

उपत्यका विशेष प्रदेशमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा पराजुली र सचिवमा धरेल


काठमाडौं, असोज २१ । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत हुनुभएको छ । आकांक्षी चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चुनिनुभएको हो ।

असोज १९ गतेदेखि चलेको गैरभौगोलिक उपत्यका विशेष प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अध्यक्षमा पराजुली र रिजालको उम्मेदवारी परेको थियो। उपत्यका विशेष प्रदेश कमिटीको उपाध्यक्षमा विदुर कार्की सर्वसम्मत हुनुभएको छ । यस्तै सचिव मिलन धरेल, उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार सर्वसम्मत भएको निर्वाचन समितिले जानकारी दिएको छ।

अध्यक्षमा सर्वसम्मत भएर दोहोरिएका पराजुली कर्मचारी पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। २०३५–०३६ सालको विद्यार्थी आन्दोलनका क्रममा तत्कालीन माले निकट अनेरास्ववियूमा आबद्ध हुनुभएको थियो । त्यतिबेला उहाँ अनेरास्ववियूको संखुवासभा जिल्ला कमिटीका सदस्य हुनुहुन्थ्यो ।

अध्ययनका लागि काठमाडौं आएपछि २०३९ सालमा शंकरदेव क्याम्पसमा ुक्याम्पस युग लिगुमा आबद्ध हुनुभएको थियो । २०४० सालदेखि निजामती सेवामा प्रवेश गरेका पराजुलीले पार्टीसँग सम्पर्क छाडनुभएको थिएन । छद्म नाम प्रयोग गरेर पार्टी काममा सक्रिय थिए।
२०४७ सालको अन्तरिम मन्त्रिपरिषद्मा झलनाथ खनाल कृषि मन्त्री हुनुहुन्थ्यो।

त्यतिबेला उहाँको निजी सचिवालयमा रहेर काम गर्नुभयो । २०५१ सालमा एमालेले अल्मतको सरकारको नेतृत्व गरेका बेला भरतमोहन अधिकारी अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँको सचिवालयमा रहेर पनि काम गर्नुभयो । सुरेन्द्र पाण्डे, विष्णु पौडेल अर्थमन्त्री भएका बेला पनि उहाँहरूको निजी सचिवालयमा रहेर काम गर्नुभएको थियो । परजुली अर्थमन्त्रालयको अधिकृतबाट सेवा निवृत्त हुनुभएको थियो ।