जाजरकोट, असोज २३ । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका पूर्वअध्यक्ष कृष्णबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन । विशेष अदालत काठमाडौंले सोमबार जुनीचाँदे गाउँपालिका पूर्वअध्यक्ष केसीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।
बिशेष अदालतले पूर्वअध्यक्ष केसीलाई दुई वर्ष कैद सजाय र आठ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार केसीसँग सम्बन्धित दुईवटा मुद्दा विचाराधीन थिए । जसमध्ये एउटामा सफाइ र अर्कोमा दोषी ठहर भई दुई वर्ष कैद सजाय र आठ लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएको हो । केसी घुस मागेर भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर हुनुभएको हो ।
केसीले सोही गाउँपालिकाको वडा नम्बर ५ मा विभिन्न उपभोक्ता समितिमार्फत भएका कामको अन्तिम भुक्तानीका लागि घुस माग्नुभएको थियो । केसी र स्थानीय विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतले आपसमा मिलेमतो गरी घुस मागेको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको थियो।
केसी र बस्नेतले घुस मागिरहेको सूचना अख्तियारमा आएपछि टोली खटाइएको थियो । दुवै जनालाई अख्तियारको सुर्खेतस्थित कार्यालयको टोलीले आठ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। केसी र बस्नेतलाई घुसबापतको रकम लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको थियो । अख्तियारले २०७६ फागुन २२ गते दुवै जनालाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो ।
विशेष अदालतका उपरजिस्ट्रार कार्कीका अनुसार प्रधानाध्यापक बस्नेतलाई विशेषले सफाइ दिएको छ भने केसीलाई कैद र जरिवाना दुवै हुने सजाय सुनाइएको छ । न्यायाधीशहरू शालिग्राम कोइराला, बलभद्र बाँस्तोला र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो ।
जुनीचाँदे गाउँपालिका पूर्वअध्यक्ष केसीसहित वडाध्यक्ष राजबहादुर शाहीले घुस रकम दिन बाध्य बनाएको अर्को एक मुद्दामा भने विशेषले सफाइ दिएको छ । सडक निर्माण कार्यमा सेवाग्राहीसँग पटक–पटक गरी २५ लाख ५० हजार रुपैयाँ घुस मागेको भन्दै अख्तियारमा उजुरी परेको थियो । भ्रष्टाचारी ठहर केसी सत्तारुढ नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटीका सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्