काठमाडौं, असोज २५ । नेपाललाई जानकारी नै नदिई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूभागमा प्रवेश गरेको बिषयमा नेकपा एमालेका पूर्वउपाध्यक्ष एवं पूर्वमन्त्री डा. भीम रावलले कडा आपत्ति जनाउनु भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी आज नेपाललाई जानकारीसमेत नदई नेपाली भूमि कालापानी क्षेत्र आएपछि रावलले कडा आपत्ति जनाउनु भएको हो । उहाँले यस बिषयमा सरकार र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ पनि माग्नुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदी आजै बिहान हेलिकोप्टर चढेर आदि कैलाश र पार्वती कुण्डको दर्शन गर्न पुग्नुभएको छ । मोदीको ट्विटर अकाउन्टबाट पार्वती कुण्डमा दर्शन गरेको फोटो पनि सार्वजनिक भएको छ । मोदीले नेपालको सिमानाभित्र रहेको गुञ्जीका सात गाउँमा स्थानीय बासिन्दासँग छलफल गर्ने समाचारसमेत भारतीय सञ्चारमाध्यमले दिएका छन ।
यस विषयमा सरकारले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । स्थानीय प्रशासन पनि बेखबरजस्तै देखिएका छन् । एमाले नेता रावलले यो निकै संवेदनशील विषय भएको भन्दै आपत्ति जनाउनु भएको हो ।
‘लिपुलेक, कालापानी लिम्पियाधुरा नेपालको भूभाग हो । नेपालको नक्सामा नै ती क्षेत्रहरु समेटिएका छन । त्यहाँ नेपालको जानकारी बेगर भारतीय प्रधानमन्त्रीले भ्रमण गर्नु सामान्य कुरा होइन,’ रावलले भन्नुभएको छ । नेपाल सरकारले यस विषयमा जवाफ दिनुपर्ने रावलले बताउनु भएको छ ।
‘नेपालका प्रधानमन्त्रीज्यू, परराष्ट्रमन्त्रीज्यू कहाँ हुनुहुन्छ ? नेपाली जनताले सुन्ने गरी उहाँहरुले जवाफ दिनुपर्छ । हामीलाई जानकारी छैन भन्नुजस्तो लाचारी केही हुँदैन । भारतको दिल्लीस्थित राजदूतावास के कामका लागि राखेको हो ?’ रावलको प्रश्न छ । रावलले यस विषयमा नेपाली राजदूतसँग सोध्न तथा भारतलाई कूटनीतिक नोट दिन पनि सरकारलाई सुझाव दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्