जनता टाइम्स

२७ आश्विन २०८०, शनिबार ०५:५३

कोशीमा गठबन्धनको जालझेल, यस्तो छ केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त नगर्ने प्रतिगामी खेल


बिराटनगर, असोज २७ । सत्ता गठबन्धनले आडमा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्तिको प्रक्रियामा जाल झेल सुरु गर्नुभएको छ ।

आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न आवश्यक प्रदेश सभा सदस्य समेत लिएर आफ्नो कार्यालयमा आउनु भएका केदार कार्की लगायतका प्रदेश सभा सदस्यलाई फकाएर खापुङले आफैँले तोकेको समयमा मुख्यमन्त्री नियुक्ति नगरी आजका लागि मिति तोक्नु भएको हो । उहाँले यस अघि दिनुभएको टाइम लाइन शुक्रवार साँझ ५ बजेसम्मको थियो ।

आफैँले दिएको समय सकिँदा पनि बहुमत सांसदको हस्ताक्षरसहित सशरीर उपस्थित हुनुभएका केदार कार्कीलाई सनाखत गरेर मात्र मुख्यमन्त्री नियुक्ति गर्ने भन्दै उहाँले कपटपूर्ण जालसाजी सुरु गर्नुभएको छ । ‘रात रहे अग्राख पलाए’ भन्ने नीति अनुसार गठबन्धनले शुक्रवार मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई रोकेको छ ।

प्रदेश प्रमुख खापुङले साँझ सूचना जारी गरी आज बिहान आठ बजेदेखि दिउँसो दुई बजेसम्म दुवै पक्षका दाबीकर्तालाई सनाखतका लागि बोलाउनुभएको छ । आजसम्म कांग्रेसबाट विद्रोह गरेर कार्कीको पक्षमा लागेको प्रदेश सभा सदस्यहरूलाई लोभ, डर वा त्रास देखाएर गठबन्धनले उम्मेदवार बनाएका माओवादीका इन्द्र आङ्बोको पक्षमा पार्न सकिन्छ कि भन्ने षडयन्त्रमा गठबन्धन लागेको छ ।

प्रदेश प्रमुखको लागि गठबन्धनले माओवादी संसदीय दलका नेता आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्दा कांग्रेका नौ जना सांसद विद्रोह गरेर एमालेसँगको सहकार्यमा नेपाली कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव सहितको हस्ताक्षर बिहीबार नै प्रदेश प्रमुखलाई बुझाउनु भएको थियो । ४७ जना सदस्यको समर्थनमा मुख्यमन्त्री बन्न सक्नेमा कार्कीले ४८ जनाको हस्ताक्षर बुझाउनु भएको छ ।

इन्द्र आङ्बोलाई मुख्यमन्त्री बन्न आवश्यक सङ्ख्या नपुग्ने प्रमाणित हुँदा पनि बहुमत पुर्याइसक्नु भएका कार्कीलाई प्रदेश प्रमुखले षडयन्त्रपूर्ण तरिकाले मुख्यमन्त्री हुनबाट एक दिन पर धकेल्नुभएको हो । यसअघि केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेतको सहभागितामा बसेको नेपाली कांग्रेसको बैठकमा कांग्रेसबाटै अर्को नाम दिन वा गठबन्धनका उम्मेदवार इन्द्र आङ्बोलाई समर्थन गर्न प्रचण्डले आग्रह गर्नुभएको थियो । तर कांग्रेस नेता डा. शेखर कोइरालाले त्यसलाई ठाडै अस्वीकार गर्नुभएको थियो ।

केन्द्रमा कुरा नमिले पछि गठबन्धनको दबाबमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिको कामलाई रोकेर संविधान हातमा लिने कार्य गर्नुभएको छ । गठबन्धनको गैर संवैधानिक खेलमा खापुङ पनि मिसिनु भएको छ । आज दिउँसोसम्म अनेकन षडयन्त्र गरी कार्कीलाई प्रदेश प्रमुख बन्न नदिने तानाबाना बुन्न सुरु भएको छ । प्रदेश प्रमुखको यो झेलसँगै सत्ताको आडमा शेखर कोइरालालाई धम्क्याउने, लोभ लालच दिनेदेखि कोशीका प्रदेश सभा सदस्यलाई पनि तर्साउने काम सुरु भएको छ ।

स्रोतका अनसार प्रदेश प्रमुख खापुङ कांग्रेसका सांसद सनाखत गर्न नआउँदासम्म मुख्यमन्त्री नियुक्त नगरी बस्ने प्रचञ्चमा हुनुहुन्छ । उहाँलाई यही आदेश दिइएको छ ।