विराटनगर, असोज २७ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज सनाखतलगत्तै मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
केन्द्रीय सत्ता गठबन्धन र आफ्नै पार्टी सभापति शेरबहादुर देउवाको निर्णयविरुद्ध विद्रोह गरेका केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । कार्की कांग्रेस नेता डा शेखर कोइराला समूहका नेता हुनुहुन्छ।
केन्द्रले कोशीमा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि कार्कीसहित कांग्रेसका ८ सांसदले विद्रोह गर्नुभएको थियो । असोज २० गते एमालेका हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आफूले विश्वासको मत पाउने आधार नदेखेपछि पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनको आह्वन गरेपछि कार्कीले एमालेको समर्थनमा बहुमतसहित मख्यमन्त्रीको दावी गर्नुभएको थियो ।
संविधानको यो धारामा सांसदहरुलाई पार्टीको ह्वीप लाग्दैन । प्रदेश प्रमुखले शुक्रबार ५ बजेसम्मको समय दिएपनि कार्की र आङ्बोले बिहीबार नै आफूलाई ४७–४७ सांसद्को समर्थन रहेको भन्दै दाबी पेस गर्नुभएको थियो ।
दुवै जनाले बराबरी सांसद देखाएको भन्दै प्रदेश प्रमुखले शनिबार मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुको सनाखत गराउनु भएको थियो । सनाखतमा कार्कीको पक्षमा ४७ सांसद पुगेपछि प्रदेश प्रमुखले उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । कार्की मुख्यमन्त्रीमा नियुक्त भएसँगै कोशीमा गठबन्धनको संबिधानबिरोधी झेली खेल सकिएको छ ।













प्रतिक्रिया दिनुहोस्