काठमाडौं, असाज २८ । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी पूर्वलडाकूका लागि नेपाली सेनामा भइरहेको चलखेल स्वीकार्य नहुने बटमलाइन सुनाउनु भएको छ ।
प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मतियार बनेर सरकारमा सहभागी आफ्नै दलका मन्त्रीहरुले सेनाको नियम कानून मिचेर माओवादी पूर्वलडाकू यमबहादुर अधिकारीलाई प्रधानसेनापति बनाउने खेलमा लागेको तथ्य खुलेपछि कोइरालाले यस्तो बटमलाइन सुनाउनु भएको हो ।
प्रधानमन्त्री दाहाल प्रधानसेनापति शर्मालाई प्रयोग गरेर नीतिगत रूपमै बढुवा संरचना खल्बल्याउने, माओवादी लडाकुबाट समायोजन भई सहायक रथी बनेका यमबहादुर अधिकारीलाई उपरथीमा बढुवा गर्ने र प्रधानसेनापति बनाउने खेलमा लाग्नुभएको तथ्य बाहिर आइसकेको छ । प्रधानमन्त्रीको यो कामलाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि साथ दिनुभएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री दाहालको विशेष आग्रहमा माओवादी लडाकुबाट सेनामा समायोजन भएकालाई तालिम र वृत्तिविकासमा सहयोग पुग्नेगरी उनलाई त्यहाँ खटाइएको र अब रिक्त हुने उपरथी पदमा बढुवा गर्ने योजना बनाइएको छ। अब रिक्त हुने उपरथीमा बढुवा भए अधिकारी प्रधानसेनापति बन्ने प्रबल सम्भावना रहन्छ। उपरथीमा बढुवा भएमा अधिकारीलाई प्रधानसेनापति हुनबाट रोक्न सक्ने अवस्था नरहेको कारण प्रधानमन्त्री दाहालले आवश्यक प्रबन्ध मिलाउन प्रधानसेनापति प्रभुराम शर्मालाई जिम्मा दिनुभएको छ । यही तथ्य बुझेर शेखरले आपत्ति जनाउनु भएको हो ।
‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन,’ कोइरालाले भन्नुभएको छ ।
उहाँले नेपाली सेनामा राजनीति नगर्न पनि सचेत गराउनु भएको छ । ‘सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस,’ कोइरालाले भन्नुभएको छ ।
शेखरको भनाई जस्ताको तस्तै
नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस ।













प्रतिक्रिया दिनुहोस्