जनता टाइम्स

२८ आश्विन २०८०, आईतवार १६:०७

कोशीमा आएको विद्रोहले गठबन्धनलाई धक्का दियो, मध्यावधी रोक्न एमालेले बिद्रोहीलाई साथ दियो : केपी ओली


प्यूठान, असोज २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधी निर्वाचन गराएर देशको अनावश्यक खर्च जोगाउन विद्रोही कांग्रेसलाई समर्थन गरेको प्रष्ट पार्नुभएको छ ।

आइतबार प्युठानको विजवार जरुमीमा अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । अध्यक्ष ओलीले कोशी कांग्रेसमा आएको विद्रोहले सत्ता गठबन्धनलाई धक्का दिएको पनि बताउनु भयो ।

‘तेस्रो भएको माओवादीलाई जताततै बोकेर हिँडेपछि सबैतिर कांग्रेसका नेता कार्यकर्ता आक्रोशित छन, अति भएर कोशी प्रदेशमा कांग्रेसका केही साथीहरुले विद्रोह गर्नुभएको हो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘कांग्रेसका नेताहरुले प्रचण्डले भनेको मात्रै गरेपछि बिद्रोह भएको हो, ८ सीटका पछि कांग्रेसको ह्वीप लागेपनि केही सांसदले विद्रोह गर्नुभयो ।’

एमाले मध्यावधिमा जान तयार भए पनि, एमालेलाई मध्यावधिले फाइदा हुने भएपनि चुनावका लागि हुने देशको ठूलो खर्च रोक्न, मध्यावधिमा जान नदिन कांग्रेसको विद्रोहलाई समर्थन गरेको उहाँको भनाई थियो । केन्द्र र प्रदेशमा सत्ताका लागि भएको अपवित्र गठबन्धनको सबैतिर संघीयताप्रति नै वितृष्णा जगाएको पनि ओलीले बताउनु भयो । ‘कोशीमा हेर्नुस, कतिपटक किर्ते गरे ? कति प्रदेशमा भागवण्डा पुर्याउन मन्त्रालय थपे ? को–को लाई कानून विपरीत नियुक्त गरे ? अनि यो प्रणालीमाथि वितृष्णा फैलिँदै गएको हो, यो सत्तारुढ गठबन्धनकै कारण भएको हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

अब एमाले सुदृढ भएको र गठबन्धनको पक्षमा नरहेको प्रष्ट पार्दैै अध्यक्ष ओलीले २०८४ को निर्वाचनमा एक्लै ५१ प्रतिशत वडादेखि संसदसम्म ल्याउनेगरी अभियानमा लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिनुयो । ‘अहिले गठबन्धनको ताल हेर्नुस त, चारतिर फर्केका दलहरु जोडेर सरकार बनाएका छन । कुनै स्थिरता हुँदैन, उनीहरु सरकारमा पुग्नका लागि मात्रै गठबन्धन गरेका हुन । त्यसैले उनीहरुबाट पार लाग्दैन’, ओलीले भन्नुभयो, ‘समृद्ध नेपाल बनाउन एमालेलाई बहुमत चाहिन्छ, त्यही अभियानमा लागौं, एमालेको शक्ति नै जनताको साथ हो, परिवर्तन विरोधी, सुशासनविरोधीसँग मिलेर एमाले हिंडदैन ।’

चर्काे घेराबन्दी हुँदा पनि नेकपा एमालेले देश बनाउँछ भन्ने विश्वासका साथ देशभरबाट साथ समर्थन पाएर धेरै मत पाएर पहिलो दल बनेपनि सरकार बनाउन बहुमत नभएकाले अहिलेको अवस्था आएको उहाँको भनाई छ । अध्यक्ष ओलीले एमालेलाई सकाउँछु भनेर हिडकाहरु आफै सकिएको तथ्य पनि राख्नुभयो । ‘एमाले सकाउन हिंडेकाहरु आफैं सकिए, अझै सकिँदैछन, यो मजबुत पार्टी हो, कठिन अवस्था पार गरेका छौं, ग्रासरुटपछि मिसन ८४ मा छौं । त्योभन्दा अघि पार्टीका सबै कमिटीलाई नयाँ नेतृत्व प्रदान गर्नेछौं,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले एमाले अझै सदृढ बनेर अघि बढने ठोकुवा गर्नुभयो । ‘एमाले सकाउन लागेका थिए, धुलोमा मिलाउछु भनेको थिए तर तपाईंहरुको मायाले एमाले अझ बलियो भएको छ, लक्का जवान भएको छ, अब एमाले जागेका मात्र छैन, पुनःजागरणमा लागेको छ, शुद्धीकरणमा लागेको छ,’ ओलीले थप्नुभयो, ‘एमालेको कम्युनिष्ट पार्टीको कार्यकर्ता र अरुका कार्यकर्ताको जिम्मेवारी फरक हुनुपर्छ, हामी सरकारका लागि मरिहत्ते गर्दैनांै, देशको स्वभाविमान जोगाउन एमाले सधैं सतिसालजस्तै बन्नेछ, नाकाबन्दीलाई चुनौती दिएर स्वाभिमान जोगाएको एमाले हो ।’

 

घटस्थापनाको दिन प्युठानमा आउनु, स्वर्गद्वारीमा दर्शन पाउनु आफ्ना लागि निकै महत्वपूर्ण अवसर भएको पनि उहाँले बताउनु भयो । स्वर्गद्धारी संरक्षणको विकास गरेर धार्मिक पर्यटन भित्र्याउन सकिने प्रशस्त आधार भएकाले एमाले नेता सूर्य थापाको साथमा अगाडि बढ्न सुझाउँदै आफूले त्यस काममा साथ दिने घोषणा पनि गर्नुभयो ।

ओलीले प्युठान आन्दोलन र जागरणको इतिहास भएको जिल्ला भएको र ७० वर्ष अघिबाट यहाँको जागरणको विषयमा आफूले अध्ययन गरेको बताउनु भयो । उहाँ आज बिहान हेलिकप्टरबाट प्युठान आउनु भएको हो । प्यूठान आएपछि बिहान स्वर्गद्धारी दर्शन, प्युठानको विजवार ज्रुमीमा अगुवा कार्यकर्ता भेटघाट, नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन सकेर आजै काठमाडौं फर्कने कार्यक्रम छ । उहाँ २९ वर्षपछि प्यूठान आउनु भएको हो ।