जनता टाइम्स

२९ आश्विन २०८०, सोमबार १०:४९

ओली निवासमा एनआरएनए अध्यक्ष बद्रि केसीको टीम, ओएनएफले गर्यो केसी प्यानललाई सघाउने घोषणा


काठमाडौं, असोज २९ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा अध्यक्ष डा. बद्रि केसीको टीमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको छ ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा र एनआरएनएका बर्तमान अध्यक्षसमेत रहनुभएका अध्यक्षका उम्मेदवार केसीको नतृत्वमा आज ओली निवास बालकोटमा पुगेर सो टीमका उम्मेदवार तथा समर्थकहरुले अध्यक्ष ओलीसँग भेट गर्नुभएको हो ।

ओएनएफले संस्थागत रुपमै यसपटक डा. केसी नेतृत्वको टीमलाई सहयोग गर्ने निर्णय गरेको छ । एनआरउनएको संस्थागत बिकासका लागि केसीको एकल नेतृत्व आवश्यक छ भन्ने बिश्वभर रहेका गैरआवासीय नेपालीको चाहनाअनुसार आफूहरुले डा केसीलाई सघाउने निर्णय गरेको ओएनएफका अध्यक्ष थापाले बताउनु भयो ।

समृद्धि र रुपान्त्रण हाम्रो साझा अभियान भन्ने नारा दिएर चुनावी मैदानमा उत्रिनुभएका केसीले सवै क्षेत्रलाई समेटेर आफ्नो टीम बनाउनु भएको हो । अध्यक्ष केसीको समुहबाट उपाध्यक्षमा रामशरण सिम्खडा, डा. हेमराज शर्मा, डा. बिनोद श्रेष्ठ, रोबिन शेरचन, चिरञ्जिीवी घिमिरे, यासमीन बेगम सैयद उम्मेदवार बन्ने तय भएको छ । यस्तै युथ भाइस प्रेसिडेन्ट (युवा उपाध्यक्ष) मा रोशन थापाको नाम तय भएको छ ।

केसीको प्यानलबाट महासचिवमा गौरीराज जोशी उम्मेदवार हुनुहुन्छ । यस्तै उपमहासचिवमा शन्तोषकुमार भट्टराई, प्रमोद सिटौला, सचिवमा राजेन्द्र पुडासैनी, नवराज रोस्यारा, डा. ज्ञानेन्द्र रेग्मी, यज्ञराज सुवेदी, प्रकाश सापकोटा र महिला सचिवमा राधिका गुरुङ (टीका) उम्मेदवार बन्नुभएको छ ।

डा. बद्रिको टीमबाट कोषाध्यक्षमा सुदन थापा, सहकोषाध्यक्षमा अभिमन्यु बस्नेत, ददीवल खडक र सीपी पौडेल तथा महिला सहकोषाध्यक्षमा अमृता थापा (कञ्चन) उम्मेदवार बन्नुभएको छ । यस्तै महिला संयोजकमा अनुजा प्रधान, युवा संयोजक पदमा सुपेन्द्र घिसिङ उम्मेदवार रहनुभएको केसी समुहले जनाएको छ ।