काठमाडौं, असोज २९ । नेकपा एमालेको सवै प्रदेशको अधिवेशन सकिएको छ । गत बर्ष सम्पन्न स्थानीय तह र आम निर्वाचनको समिक्षापछि देशभर चलाइएको अभियानपछि एमालेले यसै बर्षभित्र प्रदेश, जिल्ला, पालिका र वडाको अधिवेशन गर्ने निर्णयअनुरुप सात भौगोलिक र एक गैर भौगोलिक प्रदेशको अधिवेशन सकिएको हो ।
प्रदेश संरचनामा गएपछि एमालेले पहिलो पटक प्रदेशमा अधिवेशन गरेको हो । अधिवेशनले कतै निर्वाचन त कतै सर्वसम्मत गरी नेतृत्व चयन गरेको छ । भदौ १६ गते लुम्बिनी प्रदेशबाट सुरु भएको अधिवेशन असोज २४ गते मधेस प्रदेशमा पुगेर सकिएको छ । एमालेले कुनै प्रदेशमा मतदान र कुनैमा सहमतिमार्फत आगामी ४ वर्षका लागि प्रदेश हाँक्ने कमाण्डरसहित प्रदेश कमिटी चयन गरेको छ ।
अधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने, सहमति नभएको अवस्थामा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने नीति एमालेले लिएको थियो । जसअनुसार तीन प्रदेशको नेतृत्व सर्वसम्मत र ५ प्रदेशमा निर्वाचनमार्फत नेतृत्व चयन भएका छन । सुदूरपश्चिम, मधेस र उपत्यका विशेषमा सर्वसम्मतिमै नेतृत्व चयन भएपनि अन्य प्रदेशमा निर्वाचन भएको हो ।
अधिवेशनपछि एमाले कार्यकर्तामा उत्साह पैदा गरेको छ । लामो समयदेखि एमालेमा सर्वसम्मतीको प्रयासले आन्तरिक निर्वाचनमा भाग लिन नपाएका नेता कार्यकर्ताले स्वास्थ्य प्रतिष्पर्धालाई पार्टीको लोकतान्त्रिक मान्यताको निरन्तरताको रुपमा व्याख्या गरेका छन । लुम्बिनीबाट प्रदेश अधिवेशनको सुरुवात गरेको एमालेले सोही प्रदेशमा चुनावी प्रतिस्पर्धा सुरु गरेको थियो । यस्तै बागमती, कर्णाली, गण्डकी र कोशी प्रदेशमा पनि चुनावी प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयन भए । एमालेले सुदूरपश्चिम र मधेसमा भने सहमतिमै नेतृत्व चयन गरेको छ ।
प्रदेश कमिटीको नयाँ नेतृत्वले पार्टीलाई भुईंतहसम्म चलायमान बनाउने,नयाँ नेतृत्व,नयाँ नीति र नयाँ कार्यक्रम सहित प्रदेश कमिटीहरु जनतामा जाने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताउनु भयो । प्रचार प्रमुख गौतमका अनुसार कपिय ठाउँमा सर्वसम्मत,कतिपय ठाउँमा निर्वाचनबाट नेतृत्व आएकोले यसमा कार्यकर्ताहरु उत्साही भएका छन ।
‘जहाँ सर्वमान्य नेताहरु थिए, त्यहाँ सर्वसम्मत नेतृत्व आयो । जहाँ प्रतिष्पर्धी कमरेडहरु थिए त्यहाँ निर्वाचन भयो,’ गौतमले भन्नुभयो, ‘निर्वाचन भएका ठाउँमा पराजित हुनेले विजेतालाई सघाएर जाने हाम्रो पार्टीको परम्परा नै हो ।’
प्रदेश कमिटीहरुको पहिलो काम जिल्ला र पालिका तहका अधिवेशन चैतसम्ममा सम्पन्न गर्नु रहेको गौतमले बताउनुभयो । ‘आफ्नो वार्षिक योजना भित्र दुवै तहका अधिवेशन सफल पार्ने कुरा सबै प्रदेशहरुले राख्नेछन्,’ गौतमले भन्नुभयो, ‘अधिवेशनको हलबाट प्रतिनिधीहरुले दिएका सुझावलाई समेत कार्ययोजनामा समेटेर मिसन ०८४ साफल पार्न प्रदेश कमिटीहरु लाग्नेछन् ।’ प्रदेशका नेतृत्व लिएका सवै नेताहरुले मिसन २०८४ लाई केन्द्रित गरेर अभियान अघि बढाउने प्रतिवद्धता जनाएका छन ।
लुम्बिनी
बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कँडेलले अध्यक्षमा निर्वाचित हुनु भएको हो । कँडेलसँग केन्द्रीय सदस्यसमेत रहनुभएका प्युठानका हरि रिजाल २ मतले पराजित हुनुभयो । लुम्बिनीका अन्य पदाधिकारीमध्ये उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, सचिवमा लक्ष्मण आचार्य, उपसचिवमा पूर्ण बुढा मगर र महिला उपसचिवमा लिला राना मगर निर्वाचित हुनुभयो ।
बागमती
एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित हुनुभयो । ढुंगेलले कृष्णप्रसाद दाहाललाई पराजित गर्नुभएको हो । एमाले बागमती प्रदेश उपाध्यक्षमा दावादोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवद्वयमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निर्वाचित हुनुभयो । उहाँहरु चुनावी प्रतिस्पर्धाबाट निर्वाचित हुनुभएको हो ।
कोशी
एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित हुनुभयो । खतिवडाले केन्द्रीय सदस्य विनोद ढकाललाई पराजित गर्नुभएको हो ।
यस्तै उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत हुनुभयो । सचिवमा राजकुमार भण्डारी, उपसचिवमा देवान राई र जलवर्षा राजवंशी निर्वाचित हुनुभयो । कोशीमा पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन भएको छ ।
गण्डकी
एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित हुनुभएको छ । मतदानमा मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै उपाध्यक्षमा मिनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, उपसचिवमा दामबहादुर विक र मञ्जु अधिकारी निर्वाचित हुनुभयो ।
कर्णाली
एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्षमा गुलावजंग शाह निर्वाचित हुनुभयो । शाहले मीनबहादुर शाहीलाई पराजित गर्नुभएको हो । यस्तै उपाध्यक्षमा टेकराज पछाई, सचिवमा ध्रुवकुमार शाही, उपसचिवमा रविन्द्रराज शर्मा र रमेशकुमार शाही निर्वाचित हुनुभएको छ ।
सुदूरपश्चिम
एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष कृष्ण जैशी सर्वसहमत चयन हुनुभएको छ । पाँच दिन लगाएर सम्पन्न एमाले सुदूरपश्चिम अधिवेशनमार्फत अध्यक्षमा जैशीसहित पाँच पदाधिकारी सर्वसम्मत चयन हुनुभएको हो । यस्तै उपाध्यक्षमा कालीबहादुर शाही, सचिवमा रणबहादुर चन्द, उपसचिवमा नरबहादुर विक र भागरथी विष्ट चयन हुनुभयो ।
मधेस
एमाले मधेस प्रदेशको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । प्रदेश अध्यक्षमा चन्देश्वर मण्डल, उपाध्यक्षमा विचारी यादव, सचिवमा मनोज पौडेल, सह–सचिवमा आरती भण्डारी र मोहम्मद कैस सर्वसम्मत चयन हुनुभएको हो ।
उपत्यका
एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रेमकुमार पराजुली चयन हुनुभयो । उहाँको नेतृत्वमा ७५ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो । कमिटीको उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल, उपसचिवमा उर्मिला सुनुवार र जीतेन्द्र श्रेष्ठ चयन हुनुभयो ।
प्रतिक्रिया दिनुहोस्