जनता टाइम्स

३० आश्विन २०८०, मंगलवार १६:४४

अवैध लागूऔषधसहित छ जना पक्राउ


काठमाडौं, असोज ३० । प्रहरीले तीन जिल्लामा अबैध लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कैलालीको टिकापुर नगरपालिका १ बनगाऊस्थित सडकबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय महादेव आले मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै पोखरा महानगरपालिका ९ पृथ्वीचोकबाट एमफेटामाईन ९आईस० जस्तो देखिने ३७ ग्राम ५० मिलिग्राम लागूऔषधसहित गोरखा शहिद लखन गाउँपालिका ३ बस्ने ३५ वर्षीय हिरा बहादुर नेपाली समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कस्कीबाट खटिएको प्रहरीले प्रदेश १-०१००१ ख ३४३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बस चालक नेपाली समेत उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी पर्सा, पर्सागढी नगरपालिका १ स्थितबाट अवैध लागूऔषध गाँजाको धूलो करिब ४ केजी ६ सय ८३ ग्रामसहित पटेर्वा सुगौली गाउँपालिका ४ देउरिया बस्ने ४० वर्षीय बृज किशोर थारुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वाबाट खटिएको प्रहरीले ना.१ ह ८० नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ व्यक्तिहरुको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।