जनता टाइम्स

१ कार्तिक २०८०, बुधबार १२:३५

मुसीकोटमा घाँटी रेटेर एक महिलाको बिभत्स हत्या, तालिमे कुकुरले अनुसन्धान गर्दै


सुर्खेत, १ कार्तिक । रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको एक होटेलमा मृत अवस्थामा भेटिएकी छिन् । ती महिलाको महिलाको विभत्स तरिकाले हत्या गरिएको बताईएको छ । मुसीकोट नगरपालिका–१ खलङगामा रहेको होटेल सत्कारको कोठा नम्वर १ मा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी मुसीकोट नगरपालिका–७ साँख घर भइ मुसीकोट नगरपालिका–१ छिङस्थित माईती घरमा बस्दै आएकी २८ वर्षिया भावना बिकको घाँटी रेटेर हत्या गरिएको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार घटनास्थल प्रकृति हेर्दा महिलाको हत्या विभत्स तरिकाले गरिएको छ । डिएसपी भट्टराईले घाँटी रेटिएको र आँखा छोपिएको अवस्थामा शव रहेको बताउनुभयो । प्रहरीले घटनास्थलबाट धारिलो चक्कु समेत बरामद गरेको छ ।

महिलाको घाँटिको भाग आधा भन्दा बढी छिनाईएको छ । प्रहरीले महिला हत्याको घटनाको अनुसन्धानको लागि कुकुरसहितको अनुसन्धान टोली मगाएको थियो । मंगलबार बेलुका घटनास्थल पुगेको कुकरसहितको बिशेष प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । घटनाको सफल अनुसन्धानको नजिक पुगिसकेको प्रहरीले जनाएको हो ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा समेत लिएको छ । पक्राउ परेकाको विवरण भने सार्वजनिक गरिएको छैन । घटनाको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम, नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर र प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब निरिक्षक बिष्णुप्रसाद पौडेलको नेतृत्वमा आएको टोलीले अनुसन्धान गरिरहेको छ ।