जनता टाइम्स

१ कार्तिक २०८०, बुधबार २०:२२

प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापाको अपिल : एनआरएनएलाई सवैको साझा बनाउन डा. बद्रि केसीको टीमलाई मतदान गरौं


बद्रि केसीको प्यानलमा घोषित उद्देश्य र लक्ष प्राप्तिमा संगठनलाई कसरी अघि बढाउन सकिन्छ भनेर चिन्तन गर्ने र त्यसअनुसारको व्यवहार गर्ने व्यक्तित्वहरुको ठुलो समुह नै छ

काठमाडौं, कात्तिक १ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको अध्यक्षमा डा. बद्रि केसीलाई मतदान गरी बिजयी बनाउन सवै प्रतिनिधिलाई अफिल गर्नुभएको छ ।

एनआरएनएलाई प्रवासमा रहेका सवै नेपालीको साझा मञ्चको रुपमा स्थापित गराउन बद्रि केसीसहित उहाँको टीमलाई बिजयी बनाउन अध्यक्ष थापाले अपिल गर्नुभएको हो । एनआरएनएको जारी महाधिवेशनमा नेपालमा बिहीवार बिहान १० बजेबाट मतदान सुरु हुनेछ भने बिदेशबाट अवको केही समयपछि अनलाइन मतदान हुँदैछ । यसै सन्दर्भमा अमेरिकाबाट एनआरएनएका डेलिगेट समेत रहनुभएका ओएनएफ अध्यक्ष थापाले बद्रि केसीसहित उहाँको प्यानलमा रहेका सवै उम्मेदवारलाई मतदान गर्न अपिल गर्नुभएको हो ।

एनआरएनएलाई पवित्र संस्थाकै रुपमा अघि बढाउनुपर्छ भन्ने सवैले बद्रि केसीको टीमलाई मतदान गर्नुपर्छ, आज संगठनभित्र अराजक व्यवहार देखाउने, हुलहुज्जत गर्ने, राजनीतिक पार्टी र नेताहरुलाई यसमा जोडी आफ्नो निहित स्वार्थ पुरा गर्ने र संगठनको गरिमालाई निश्तेज पार्नेहरुलाई परास्त गर्दै बिश्वभर रहेका सवै नेपालीको बिश्वासिलो संस्था बनाउन केसी समुहको बिजय आवश्यक छ, अध्यक्ष थापाले भन्नुभयो ।
एनआरएनएको यस महाधिवेशनले खराव खराव प्रवृत्तिहरुलाई निस्तेज पारी संगठनलाई जोगाउनु पर्ने आवश्यकता पनि उहाँले औल्याउनु भयो ।

‘एनआरएनएमा राम्रा व्यक्तिहरुको संयुक्त साझा टीम निर्माण गरी संस्थालाई पुनः आफ्नो घोषित लक्ष्य र उद्देश्य परिपुर्ति गर्ने बाटोमा वा लयमा फर्काउनु पर्दछ । जसको लागि अति सुझबुझपूर्ण नेतृत्व चाहिन्छ,’ ओएनएफ अध्यक्ष थापाले भन्नुभयो, ‘आजको दिनमा यी सबै कामहरु गर्नसक्ने उपयुक्त पात्र डा. बद्रि केसी नै हुनुहुन्छ । उहाँ यस संस्थाको स्थापनाको समय २००३ सालदेखि यसमा जोडिँदै तल्लो तहदेखि आईसिसिको ६ महिनाको कार्यकारी अध्यक्षसम्मको जिम्मेवारीको लामो अनुभवले पोख्त हुनुहुन्छ । अबको दुई वर्ष यस संगठनभित्र भित्रिएका सवै प्रकारका खराब पक्षहरुलाई सफा गरी संगठनलाई संसारभरका नेपालीहरुले आशा र भरोसा गर्न लायकको संगठन बनाउन जरुरी छ । त्यो काम बद्रि केसीले नै गर्न सक्नुहुन्छ ।’

थापाले केसी कुनै राजनीतिक दलको मोहरा भएर चल्ने पात्र पनि हुनुहुन्न र सबैको साझा व्यक्तित्व भएको र अन्य उम्मेदवारहरु कुनै आमुक राजनीतिक दलको मोहोडा भएर प्रस्तुत भएको कारण पनि एनआरएनए डेलिगेटले यो तथ्य बुझ्नुपर्ने बताउनु भयो । सवै कुरा हेरेर नै प्रवासी नेपाली मञ्चले एनआरउनए निर्वाचनमा बद्रि केसी र उहाँको टीमलाई मतदान गर्ने निर्णयसहित समर्थन गरेको जानकारी दिँदै अध्यक्ष थापाले ओएनएफका सवै सदस्यहरुल यस निर्णय कार्यान्वयन गर्न भन्नुभएको छ ।

बद्रि केसीको प्यानलमा उम्मेदवार बनेका ब्यक्तित्वको अनुहार हेर्दा संगठनलाई जोगाएर यसको घोषित उद्देश्य र लक्ष प्राप्तिमा संगठनलाई कसरी अघि बढाउन सकिन्छ भनेर चिन्तन गर्ने र त्यसअनुसारको व्यवहार गर्ने व्यक्तित्वहरुको ठुलो समुह नै छ । तसर्थ, गैर आवासीय नेपाली संघको बीस वर्षे इतिहासमा यो संस्थालाई ठुलो दुर्घटनाबाट बचाएर आजको दिनसम्म ल्याइपुर्याउने व्यक्तिहरुलाई नै यो संस्थालाई अगुवाई गर्ने जिम्मा दिनुपर्छ,’ थापाले भन्नुभयो ।

एनआरएनए निर्वाचनमा अध्यक्षका उम्मेदवार बद्रि केसीको टीमबाट उपाध्यक्षमा रामशरण सिम्खडा, डा. हेमराज शर्मा, डा. बिनोद श्रेष्ठ, चिरञ्जिीवी घिमिरे, रोबिन शेरचन र महिला उपाध्यक्षमा यासमीन बेगम सैयद हुनुहुन्छ । यस्तै युथ भाइस प्रेसिडेन्ट (युवा उपाध्यक्ष) मा रोशन थापा र महासचिवमा गौरीराज जोशी उम्मेदवार हुनुहुन्छ । उपमहासचिवमा शन्तोषकुमार भट्टराई, प्रमोद सिटौला, सचिवमा राजेन्द्र पुडासैनी, नवराज रोस्यारा, डा. ज्ञानेन्द्र रेग्मी, यज्ञराज सुवेदी, प्रकाश सापकोटा र महिला सचिवमा राधिका गुरुङ (टीका) उम्मेदवार बन्नुभएको छ ।

यसैगरी कोषाध्यक्षमा सुदन थापा, सहकोषाध्यक्षमा अभिमन्यु बस्नेत, ददीवल खडक र सीपी पौडेल तथा महिला सहकोषाध्यक्षमा अमृता थापा (कञ्चन) उम्मेदवार बन्नुभएको छ । यस्तै महिला संयोजकमा अनुजा प्रधान, युवा संयोजक पदमा सुपेन्द्र घिसिङ उम्मेदवार रहनुभएको छ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष थापाले यी सवै उम्मेदवारको पक्षमा मतदान गर्न डेलिगेटसलाई अफिल गर्नुभएको हो । एनआरएनएको जारी महाधिवेशनमा बिश्वभर गरी ४ हजार २ सय २७ जना डेलिगेटस रहेका छन ।