जनता टाइम्स

६ कार्तिक २०८०, सोमबार १४:२८

दशैंमा जनकपुरको राजदेवी मन्दिरमा दिइयो १५ हजार २५१ बोकाको बली


जनकपुर, कात्तिक ६ । जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा १५ हजार २ सय ५१ बोकाबली दिइएको छ । हरेक वर्ष अष्टमी तिथिका दिन दिइने बोकाबली अन्तर्गत आइतबार साँझ ८ बजेर २० मिनेटमा सुरु भएको बली सोमबार बिहान ४ बजेसम्म चलेको थियो।

महावीर युवा कमिटीका अध्यक्ष अजयप्रसाद गुप्ताका अनुसार यस वर्ष राजदेवीमा १५ हजार २ सय ५१ बोकाको बलि दिइएको छ । परापूर्वकालदेखि महाअष्टमीको साँझ राजदेवीमा बोका बली दिने परम्परा रहेको छ । यसअघिका वर्षमा १४ हजार ९४१ बोकाको बलि दिइएको थियो ।

यसैगरी २०७८ मा १४ हजार २ सय ४१ बलि दिइएको थियो । कोरोना महामारीको समयमा समेत राजदेवीमा ८ हजार ८ सय ६६ बलि दिइएको थियो । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।

बलि प्रदानका लागि जनकपुरधाम गुठी संस्थानले प्रतिबोका २ सय रुपैयाँका दरले शुल्क लिएको थियो ।