जनता टाइम्स

१७ कार्तिक २०८०, शुक्रबार १६:०७

भारतमा ट्रकले ठक्कर दिँदा सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु


सुर्खेत, कात्तिक १७ । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतका एकै परिवारको पाँच जनाको मृत्यू भएको छ ।

रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा सवारी दुर्घटनामा परी एकै परिवारका ५ जना नेपाली नागरिकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेका छन ।

घटनास्थल भएको ठाउँ कर्नाटक र महाराष्ट राज्यको बिच भागमा पर्दछ । गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट गए राति उनीहरूको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धनीराम धमलाले जानकारी दिनुभयो ।

अध्यक्ष धमलाका अनुसार मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचाररत थिए । उनीहरू स–परिवार अस्पतालमा बिरामी भेट्न गएका थिए । भेटेर फर्किने बेलामा ट्रकले ठक्कर दिएको हो । वडाध्यक्ष धमलाका अनुसार रतनले चलाएको बाइकलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो ।

मृतक नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा त्यहीँ थिए । धमलाका अनुसार सुस्मिताको एक महिना अगाडि मात्रै बिहे भएको थियो । सुस्मिताका श्रीमान पनि भारतमै छन । यता चौकुनेमा भने बाबुआमा मात्रै रहेको र बाँकी सबै परिवार रोजगारीका लागि भारतमै रहेका थिए ।