जनता टाइम्स

१९ कार्तिक २०८०, आईतवार ०७:१६

डोटी जीप दुर्घटनामा परी ४ जनाको मृत्यु, ५ जना घाइते


डोटी, कात्तिक १९ । डोटीको शिखर नगरपालिका–६ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप के आईसिंह राजमार्ग अन्तरगतको अडेउल भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यू भएको हो ।

दुर्घटनामा बाजुरा हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका अन्दाजी ६ वर्षीया छोरा कविन्द बुढा र अन्दाजी ८ महिनाकी प्रार्थना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी निशान्त श्रीवास्तवले जानकारी दिनुभयो ।

दुर्घटनामा परी ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा बाजुराको हिमाली गाउँपालिका–५ का २१ वर्षीया विमला मलाल, ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोम बहादुर मलाल, २४ वर्षीय दान बहादुर बुढा र २१ वर्षीय राज बहादुर मलाल हुनुहुन्छ ।

घाइतेमध्ये विमला मलालको टाउकोमा र छातीमा चोट लागेको तथा अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले जीप चालक बाजुरा गौमुल गाउँपालिका–४ का २९ वर्षीय महेश बुढा प्रहरी नियन्त्रणमालिएको जनाएको छ । घाइतेलाई उपचारको लागि डोटी दिपायलमा रहेको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको जनाइएको छ ।