जनता टाइम्स

२२ कार्तिक २०८०, बुधबार १८:१६

उपप्रधानमन्त्री खड्का राहत सामग्रीसहित जाजरकोटमा


काठमाडौं, २२ कात्तिक । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडितका लागि राहत सामग्री लिएर जाजरकोट पुग्नुभएको छ । भूकम्पपीडितले राहत नपाएको गुनासो आएपछि उपप्रधानमन्त्री खड्का आफैँ राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोटको जुनीचाँदे गाउँपालिका पुग्नुभएको हो । उपप्रधानमन्त्री खड्काले राहत सामग्री गाउँपालिकाको वडा नम्बर ३ मा पुगेर हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ पनि उपप्रधानमन्त्री खड्काको साथमा हुनुहुन्थ्यो । गत शुक्रबार राति भूकम्प गएयता उपप्रधानमन्त्री भूकम्पपीडितको उद्धार, राहतलगायतका काममा खटिएका छन् । राहत वितरणपछि पुनःस्थापनाको काम सुरु नहुँदासम्म उहाँ सोही स्थानमै रहने उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।

रक्षामन्त्रीसमेत रहनुभएको खड्काले सरकारले यतिबेला सम्पूर्ण शक्ति भूकम्पपीडितको उद्धार, राहत वितरण र पुनःस्थापनामा केन्द्रित गरेको बताउँदै यस संकटको समयमा साथ दिने सबैलाई हार्दिक धन्यवाद समेत दिनुभयो । ‘नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हो । म आफै पनि घाइतेको उद्धारदेखि उनीहरुको उपचार र राहित वितरणमा सक्रिय छु । सरकारलाई प्राथमिकताका साथ भूकम्पपीडितका लागि काम गरिरहेको छ,’ उपप्रधानमन्त्री खड्काले भन्नुभयो ।