जनता टाइम्स

२३ कार्तिक २०८०, बिहीबार ०९:५२

भूकम्पपीडितलाई ५० लाख सहयोग गर्ने ललितपुर महानगरको घोषणा


काठमाडौं, कात्तिक २३ । उपत्यकाका स्थानीय तहहरूले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत तथा आर्थिक सहायता रकम घोषणा गरिरहेका छन् । प्रभावित क्षेत्रका स्थानीयको पुनर्वास तथा गाँसवासको लागि स्थानीय तहहरूले नगद रकम र राहत सामग्री सहयोग गरेका हुन् ।

ललितपुर महानगरपालिकाले भूकम्पपीडितका लागि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ । हाल फोहोरमैला व्यवस्थापनबारे भारतको विभिन्न स्थानको अवलोकन तथा भ्रमणमा रहनुभएका मेयर चिरिबाबु महर्जनले महानगरको तर्फबाट ५० लाख रुपैयाँ भूकम्प प्रभावितहरूको लागि सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

गत आइतबार ललितपुर महानगरको ४३औँ कार्यपालिका बैठकमा भूकम्पपीडित परिवारको लागि सहायता गर्ने निर्णय भएको थियो । बैठकमा मेयर महर्जनको उपस्थिति नरहे पनि मेयर महर्जनले राहत रकम छुट्याउन उपमेयर मञ्जली शाक्य र अन्य कार्यपालिका सदस्यलाई अनुमति दिनुएको हो ।

काठमाडौं महानगरपालिकाले भूकम्पपीडितका लागि सोमबार नेपाली सेनाको विमानमार्फत महानगरले १४ लाख रुपैयाँको एक हजार चार सय थान कम्बल पठाएको छ । महानगरले सोमबार पठाइएको राहत पहिलो प्याकेजअन्तर्गत रहेको र थप अर्को प्याकेजमा राहत पठाइने जनाएको छ । महानगरका मेयर बालेन्द्र साहले यसबाहेक अन्य प्राविधिक तथा इन्जिनियरिङ सहयोग चाहिनेमा पनि महानगरले सहयोग गर्ने बताउनु भएको छ । काठमाडौंकै चन्द्रागिरि नगरपालिकाले पनि भूकम्प प्रभावित क्षेत्रका लागि आठ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

ललितपुरकै गोदावरी नगरपालिकाले पनि भूकम्प प्रभावित क्षेत्रका स्थानीयवासीको पुनर्वासको लागि २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको पीडामा मलम लगाउन नगरपालिकाले थोरै भए पनि आर्थिक सहयोग गरेको मेयर गजेन्द्र महर्जनले जानकारी दिनुभयो । भक्तपुरका नगरपालिकाहरूले भने भूकम्प प्रभावितका लागि सहयोगको बिषयमा केही बोलेका छैनन ।