काठमाडौं, कात्तिक २३ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्वसांसद रेशमलाल चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ ।
सर्वोच्च अदालत प्रशासनले आजका लागि तोकिएको रिटको सुनुवाइ स्थगित गरेको हो । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ १५ गते संविधान दिवसको अवसरमा माफी मिनाहा दिनुभएको थियो । सरकारको सो निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो । सो रिटको सुनुवाई आजका लागि तोकिएको थियो । तर सर्वाेच्च प्रशासनले स्थगित गरेको हो ।
चौधरीसहित टीकापुर घटनाका दोषी ठह भइ कारागारामा रहेका १९ जना जेलमुक्त भएका थिए। घटनाका मुख्य योजनाकार मानिएका रेशम जेलमुक्त भएपछि टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले चौधरीको आममाफीविरुद्ध जेठ १४ गते सर्वोच्च अदालतमा रिट दिनुभएको हो ।
यसअघि जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै चौधरीलाई आममाफी दिनुको कारणबारे सरकारसँग लिखित जवाफ मागेको थियो। विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जेल चलान भएका थिए ।
चौधरीलाई जिल्ला अदालत कैलाली,उच्च अदालत दिपायल र सर्वोच्च अदालत समेतले जन्मकैदको सजाय सुनाएको थियो। सर्वोच्च अदालतबाट अन्तिम फैसला भएर फैसलाको पूर्ण पाठ नआउँदै सरकारले टिकापुर घटनाका दोषी रेशमसहित १९ जनालाई सजायबाट माफी मिनाहा गरेको थियो।
फैसलाको पूर्णपाठ ३१ साउनमा आएको थियो। सर्वोच्च अदालतले टीकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गरेको छ।
प्रतिक्रिया दिनुहोस्