जनता टाइम्स

२४ कार्तिक २०८०, शुक्रबार १९:००

कस्ले सुनिदेला तिब्बतसँग सिमाना जोडिएको लप्चीवासीका पीडा ?


दोलखा, कात्तिक २४ । चीनको तिब्बतसँग सिमाना जोडिएको जिल्लाकै दुर्गम गाउँ लप्चीवासीले सरकारले आफूहरुको कुरा नसुन्दा आफ्नै देखिभित्र बिदेसी जस्तो बन्नु परेको पीडा पोखेका छन । आफूहरुको कुरा सरकारले सुन्दै नसुनेको उनीहरुको भनाई छ ।

विगु गाउँपालिका–१ मा पर्ने उत्तरी विकट तिब्बती सिमानामा रहेको लप्ची लामाबगरबाट दुई दिनको कठिन यात्रापछि मात्रै पुगिन्छ । लप्चीमा जम्मा १३ घर धुरी छन । लप्चीवासीको मुख्य पेसा याक र चौँरी पालनका हो । लप्चीवासीको वर्षको ६ महिना तिब्बतका खर्कमा बित्छन भने बाँकी ६ महिना लप्ची लगायतका नेपालका विभिन्न चौँरीखर्कमा बित्ने गरेका छन ।

नेपाली याक–चौँरी किसान ६ महिना तिब्बतको चौँरी खर्कमा गोठ राखेर बस्छन । तिब्बतको खर्कमा बस्दा एउटा याक–चौँरीको वार्षिक दुई घोर्मु कर तिर्नु पर्ने शेर्पाले जानकारी दिनुभयो । नेपालतर्फ लप्ची, लालुङ, ताक्पालेमु लगायतका स्थानमा चौँरी गोठ राखिन्छ । थाङजेमुबाट तल नुमलाङ भ्यालीसम्म गोठ आउँदा ६ महिना नेपालपट्टि बित्छ । नुमलाङ पुष–माघमा बढी हिउँ पर्दा जाडो छल्ने ठाउँ हो ।

‘हामी आफ्नै देश भित्र विदेशी जस्ता भयौ, हाम्रो कुरा सरकारले सुन्दैन, हामीलाई सरकारले केही सहयोग गर्दैन’, स्थानीय पेम्बा शेर्पाले गुनासो गर्नुभयो । सो क्षेत्रको सबैभन्दा तलको भूभाग हो गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने लप्ची । त्यही लप्चीमा १३ घर नेपाली जीवन संघर्ष गर्दै छन । जंगली भालुले केही खेती लगाउन दिँदैन । ‘घरमा रहेको रासन, अन्नपात समेत सबै भालुले खाइदिन्छ, घर भत्काएर बास नै उठाइदिन्छ, राम्रो घर कसैको छैन’, शेर्पाले भन्नुभयो ।

गाउँमा रासन पुर्याउन पनि निक्कै कठिन छ । दुई दिनको अप्ठेरो बाटो बोकेर रासन पुर्याउनु पर्छ । त्यही पनि बोक्ने मानिस पाइँदैन । लप्चीमा राज्यले दिने कुनै सेवा पुगेको छैन । गाउँमा विद्यालय छैन, लप्चीका बालबालिकालाई पढाउन गुम्बामार्फत काठमाडौं, सिक्किम र तिब्बतका लामा पाठशालामा पठाइन्छ । गाउँमा टेलिफोन छैन, मोबाइलको टावरले पनि काम गर्दैन । विद्युत छैन, अँध्यारोमा नै बस्नुपर्छ । स्वास्थ्य सेवा छैन, जटिल बिरामी भयो भने मृत्यु पर्खनुको विकल्प छैन ।

‘भालुले घर भत्काएर बिजोक बनाउँदा पनि राज्यले सहयोग गर्दैन,’ शेर्पाले भन्नुभयो ‘भालुले आतंक मच्चाएर सबैको घर गोठ भत्काएर बिजोग छ, गौरीशंकर संरक्षण क्षेत्रले क्षतिपूर्ति र राहत दिँदैन, घोडा, चौँरी जंगली चितुवाले त्यति नै नोक्सान पुर्याउँछ, त्यसको पनि क्षतिपूर्ति पाइँदैन, घरको सामान आफू जता गयो त्यतै लानुपर्छ, नत्र भालुले चोरिहाल्छ’, उहाँको भनाई छ ।

नेपाल पट्टीबाट सामान लैजान बाटो निक्कै कठिन छ । अहिले चीनको नाका बन्द भएको कारण लप्चीवासीलाई बाँच्नै गाह्रो भएको शेर्पाको भनाई छ । लप्चीवासीका सबै कुटुम्ब तिब्बत तिरै छन् । लप्चीवासीको मुख्य बजार तिब्बतको कुटी बजार हो । सो बजार केही समय खुले पनि अहिले बन्द छ ।

लप्चीमा अति राम्रो गुणस्तरको चौँरी र याक उत्पादन हुन्छ । त्यस्तै घोडा पनि त्यतिकै राम्रा उत्पादन हुन्छ । तर त्यहाँसम्म पुग्ने बाटो बिकट भएका कारण अन्यत्र बिक्री गर्न सकिएको छैन । लप्चीका नागरिकलाई नेपाल सरकारले यसैगरी अभिभावकत्व नदिने हो भने गोरखाको रुई गाउँका नियति भोग्नु पर्ने दिन नआउला भन्न सकिँदैन । रुई गाउँमा सरकारले अभिभावकत्व नलिँदा स्थानीयले आफूहरू नेपाली नभएको घोषणा गर्न बाध्य हुनुपरेको थियो ।