जनता टाइम्स

२७ कार्तिक २०८०, सोमबार १०:५५

काठमाडौं उपत्यकामा तीनवटै जिल्लामा रातभर देउसी भैलो खेल्न पाइने


काठमाडौं, कात्तिक २७ । काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ। तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति काठमाडौंले जनाएको छ। भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो।

‘उपत्यकामा एकै प्रकारको निर्णय गर्नेबारे हाम्रो छलफल भएको छ, इच्छुकलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी, भैलो खेल्न स्थानीय प्रशासनले आग्रह पनि गरेको छ,’ प्रजिअ बस्नेतले भन्नुभयो, ‘आवश्यक मात्रामा सुरक्षा व्यवस्था हामीले मिलाएका छौँ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर भुईँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्ज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको छ। काठमाडौँ उपत्यकामा पटका र आतसबाजी पड्काउन पनि निषेध गरिएको प्रहरीले जनाएको छ।

प्रशासनले अवरोध नगर्ने भएपछि मध्यरातसम्म पनि देउसी, भैलो खेलिएको छ। लक्ष्मी पूजाको दिन गएरातिबाट सुरु भएको देउसी भैलो तिहारको अन्तिम दिनसम्म खेल्ने गरिन्छ। गाईपूजा आज परेको छ। गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ।

कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ।

कात्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले सुनाए। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ।