जनता टाइम्स

२८ कार्तिक २०८०, मंगलवार १८:१८

दूरसञ्चार प्राधिकरणले दियो टीकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कार्वाही गर्ने चेतावनी


काठमाडौं, कात्तिक २८ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणले आज विज्ञप्ति जारी गर्दै सरकारको निर्णयबमोजिम तत्काल टिकटक प्रयोगमा रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले सोमवार नै टीकटक बन्द गर्न पत्राचार गरे पनि कतिपय सेवा प्रदायकले अटेरी गरेपछि प्राधिकरणले बिज्ञप्ति नै जारी गरेर चेतावनी दिएको हो ।

’नेपाल सरकार मन्त्रिपरिषद्को २०८०/०७/२७ गतेको बैठकबाट सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकाले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय भएबमोजिम उक्त निर्णय कार्यान्वयनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकहरूलाई प्राधिकरणबाट निर्देशन दिइसकेकोमा केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्ने बुझिन आएकाले तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सबै सेवा प्रदायकहरूलाई अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ’प्राधिकरणको निर्देशन/आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन÷आदेशको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुनसक्ने व्यहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ।’