जनता टाइम्स

३० भाद्र २०७६, सोमबार ०८:०४

अन्ततः प्रहरी हिरासतमा पुगे ज्ञानेन्द्र शाही, अभद्र व्यवहारसम्बन्धी कसूरमा मुद्दा चलाउने तयारी


काठमाडौं, भदौ ३० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको भन्दै प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमा लिएको छ ।

नेपालगञ्ज विमानस्थलमा मन्त्री भट्टराईमाथि शनिबार भएको दुर्व्यवहार बारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा शाहीमाथि उल्टै हातपात भएपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । तर, प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ पक्राउ पुर्जी थमाएको छ ।

पक्राउ पुर्जी दिँदै उनलाई ललितपुर प्रहरीले हिरासतमा राखेको छ । पर्यटन मन्त्रीलाई शनिबार नेपालगञ्ज विमानस्थलमा अभद्र व्यवहार गरेको सम्बन्धमा अनुसन्धान गर्न शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरेर हिरासतमा राखेको प्रहरीले जनाएको छ ।

शाहीलगायतका युवाले गत शनिबार मन्त्री योगेश भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरको विमान उड्न १ घण्टा ढिला भएको भन्दै विमानभित्रै गालीगलौज गरेका थिए । तर, गालीगलौजका क्रममा संयम देखिएका भट्टराईले विमान उड्न निर्धारित समयभन्दा १५ मिनेट ढिला भएको प्रष्टीकरण दिदै र त्यसप्रति माफी पनि माग्नुभएको छ ।  बुद्ध एयरले पनि शाहीको समूहले दाबी गरेजस्तो १ घण्टा नभएर १५ मिनेट मात्रै उडान ढिलो भएको जनाएको छ ।घटनालाई लिएर सामाजिक सञ्जाल तातिरहेका बेला प्रहरीले शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । स्रोतका अनुसार, शाहीलाई अभद्र व्यवहार कसूरसँगै गैरसैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५ विपरीत कसूर गरेको अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।