जनता टाइम्स

७ मंसिर २०८०, बिहीबार ०९:४२

काठमाडौं उपत्यकामा आज एकीकृत बिशेष सुरक्षा योजना लागू, सादा पोशाकमा खटाउनेदेखि ड्रोनबाट प्रदर्शनस्थलको निगरानीसम्म


काठमाडौं, मंसिर ७ । नेकपा एमाले निकट युवा बिद्यार्थी र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गरी प्रहरीले काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाएको छ ।

प्रदर्शनमा घुसपैठ र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागू गरिएको हो । सुरक्षाकर्मीहरुलाई परिचालन गर्न उपत्यका प्रहरी कार्यालयले डिआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेको छ । कमाण्ड सेन्टरमा नेपाली सेनाको सैनिक गुप्तचर महानिर्देशनालय (डीजीएमआई) का एक जना अधिकृतसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली रहनेछन ।

कुनै अप्रिय घटना नहोस भनेर आज बिहानैदेखि काठमाडौंका चोक–चोकमा हतियारसहितका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । प्रदर्शनकारी बसेका स्थानमा पनि सादा पोशाकसहितका सुरक्षाकर्मी खटिएका छन् ।

युवा संघले तिनकुनेमा र प्रसाईं समूहले बल्खु क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्दैछन् । त्यसअघि विभिन्न स्थानबाट जुलुस निस्किने छ । प्रसाईं समूहले भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडिको चौर, गोंगबु चोक, स्वयम्भु, कलंकी, जावलाखेल, सातदोबाटो, कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार र चाबहिल चोकबाट र्याली निकाल्ने जनाएको छ । यसैगरी युवा संघको जुलुस भक्तपुरको सल्लाघारीबाट तिनकुने आउने छ ।

यी जुलुसहरुले रिङगरोड भित्रका विभिन्न रुट प्रयोग गर्ने भएकाले काठमाडौं उपत्यकामा विशेष निगरानी र सतर्कता अपनाइएको प्रहरीको भनाई छ । जुलुसमा सादा पोशाकका सुरक्षाकर्मीहरु पनि रहनेछन र उनीहरुले सूक्ष्म निगरानी गर्नेछन । साथै सीसीटीभी फुटेजहरुबाट पनि जुलुसको निगरानीको व्यवस्था गरिएको छ । बल्खु र तिनकुने क्षेत्र वरपर ड्रोनबाट पनि निगरानी गर्ने तयारी छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर–माइतीघर खण्ड, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास लगायत क्षेत्रका वरपर निषेधाज्ञा जारी गरिएको छ । यसैगरी ललितपुर प्रशासनले पनि पुल्चोकस्थित मन्त्री निवास र संयुक्त राष्ट्रसंघको कार्यालय वरपरको क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ ।