जनता टाइम्स

९ मंसिर २०८०, शनिबार २१:५४

युरोपमा ढल्यो माओवादीको खम्बा, एमाले निकट प्रवासी नेपाली मञ्चमा प्रवेश गरे जनयुद्धकालिन चर्चित नेता


काठमाडौं, मंसिर ९ । नेकपा माओवादी निकट प्रवासको संगठन जनप्रगतिशील मञ्च युरोपका नेता बाबुराम खतिवडा नेकपा एमाले निकट प्रवासी संगठन प्रवासी नेपाली मञ्चमा प्रवेश गर्नुभएको छ ।

आज आयोजित बिशेष भर्चुअल कार्यक्रमबीच खतिवडालाई प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापासहितका नेताहरुले हार्दिक स्वागत गर्नुभयो । बिसं २०५२ सालमा माओवादी आन्दोलनमा लाग्नुभएका खतिवडा माओवादी सशस्त्र युद्धको समयमा दुई बर्ष पूर्णकालिन भूमिगत बस्नुभएको थियो ।

ओखलढुंगा घर भई अहिले जर्मनलाई कार्यथलो बनाउनु भएका खतिवडा युरोपमा माओवादीका खम्बा मानिनु हुन्छ । खतिवडाले नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा समाजवादमा पुग्न सकिने तथ्य स्थापित भएकोले आफूले प्रवासी नेपाली मञ्च रोज्न पुगेको बताउनु भयो ।

‘अहिलेको अवस्थामा नेकपा एमाले नै बास्तविक रुपमा कम्युनिष्ट पार्टी हो भन्ने तथ्य स्थापित भइसक्यो, अव कोही भ्रममा बस्न जरुरी छैन,’ अधिकारीले भन्नुभयो, ‘एमाले नै कम्युनिष्ट पार्टीको मियो हो, त्यही कारण मैले नेपालको कम्युनिष्ट आन्दोलन बलियो बनाउन एमाले रोजें ।’ उहाँले स्वदेश तथा बिदेशमा रहेका सवै कम्युनिष्ट नेता कार्यकर्ताहरु एमालेमा समाहित हुन पनि अपिल गर्नुभयो ।

कार्यक्रममा अधिकारीलाई स्वागत गर्दै मञ्चका अध्यक्ष सञ्जय थापाले हार्दिक स्वागत गर्दै उचित जिम्मेवारी दिने जानकारी गराउनु भयो । अध्यक्ष थापाले रगतको नाता र बिचारको नाता गरी दुई प्रकारका परिवार हुने भएपनि बिचारको नाता घनिष्ठ हुने भन्दै अधिकारीले सही निर्णय लिएकोमा धन्यवाद दिनुभयो ।

प्रमुख अतिथिको आसनबाट सम्बोधनको क्रममा अध्यक्ष थापाले जनताको बहुदलीय जनवाद र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबाट नै समृद्ध नेपाल : सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने र समाजवादको यात्रा तय गर्न सकिने बताउनु भयो । ‘एमालेले लिएको बिचार र नेतृत्वबिना गन्तब्यमा पुग्न सकिदैन भन्ने तथ्य स्थापित भइसकेको छ, कमरेड बाबुराम खतिवडाले यो निश्कर्षसहित सही समयमा सही निर्णय लिनुभएको छ, आजको यथार्थ पनि यही हो,’ अध्यक्ष थापाले भन्नुभयो ।

मञ्चका सचिव हेम शेर्पाले पनि सही निर्णयका लागि खतिवडालाई धन्यवाद दिँदै अव स्वदेश बिदेशमा रहेका सवै कम्युनिष्टहरु एमालेमै समाहित हुनुको बिकल्प नरहेको बताउनु भयो । सचिव शेर्पाले आगामी यात्राको क्रममा अरुलाई पनि सहमत गराउँदै संगठनमा भित्र्याउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

मञ्चका उपसचिव एवं प्रचार बिभाग प्रमुख चानक पोखरेलले आजको सच्चाईलाई खतिवडाले बुझेको कारण एमाले रोजेको भन्दैस्वागत गर्नुभयो । ‘एमालेको बिचार र केपी ओलीको नेतृत्वमा सवै कम्युनिष्ट नेता कार्यकर्ता गोलवन्द हुनुपर्छ, यही आजको सच्चाइ हो,’ उपसचिव पोखरेलले भन्नुभयो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्चका नेताहरु सन्तोष भट्टराई, भक्त वाग्ले, डा. नवराज रोस्यारा, डा. चिरञ्जिीवि खडका, हेमराज जोशी, गोबिन्द पौडेल, रणबहादुर बिक, युवराज अधिकारी, गोबिन्दराज पाण्डे, नगेन्द्रमान खत्री, राजेशलाल श्रेष्ठ रप्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतका नेताहरुले सही समयमा सही निर्णय गकोमा खतिवडालाई धन्यवादसहित स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदमा निर्वाचित उपमहासचिव नवराज रोस्यारा, युरोप संयोजक चिरञ्जीवि खडकालगायत सवैलाई बधाई दिइएको थियो । प्रवासी नेपाली मञ्चका नेता चन्द्रकान्त अचार्यको अध्यक्षतामा बसेको कार्यक्रमको सञ्चालन युवराज अधिकारीले गर्नुभएको थियो ।