जनता टाइम्स

३० भाद्र २०७६, सोमबार १३:५२

अव सुध्रन्छु, कसैलाई पनि दुर्ब्यवहार गर्दिन भन्दै प्रहरीमा कागज गरेर हिरासतमुक्त भए ज्ञानेन्द्र शाही


ललितपुर, भदौ ३० । गणतन्त्रको बिरुद्धमा अराजकता निम्तयाउँदै हिडेका ज्ञानेन्द्र शाही प्रहरीमा कागज गरेर छुटेका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई बिमानमै दुब्र्यवहार गरेपछि त्यसैको बिषयमा जानकारी दिन हिजो आयोजना गरिएको पत्रकार सम्मेलनबाट शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पत्रकारको नाममा बोलाइएका युटुवरको प्रश्नको जवाफ दिन नसकेपछि युटुवरबाटै रामधुलाई भेटेका शाहीले सुरक्षाका लागि पुगेको प्रहरीमाथि नै दुर्ब्यवहार गरेका थिए । तत्कालै शाहीलाई जोगाउनका लागि प्रहरीले आफ्नो साथमा लगेपनि प्रहरीमाथि नै दुब्र्यवहारमा उत्रेपछि आइतवार म्याद थप गरी हिरासतमा राखेको थियो । उनलाई ललितपुर प्रहरीले आज छाडेको छ । आगामी दिनमा कुनै खाले अभद्र व्यवहार नगर्ने कागज गरेपछि शाहीलाई छाडिएको प्रहरीले जनाएको छ । पर्यटनमन्त्री भट्टराईले विमान ढिला गराएको भन्दै नेपालगञ्ज विमानास्थलमा भएको विवादबारे शाहीले आइतबार ललितपुरमा पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

पत्रकार सम्मेलनमा झडप भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । शाहीलाई सुध्रिने मौका दिएर छाडेको प्रहरीले जनाएको छ । ललितपुर प्रहरी परीसरका एसएसएपी टेकबहादुर राईले आइन्दा अभद्र ब्यवहार नगर्ने र झडपको अवस्था सृजना नगर्ने सर्त गराएर शाहीलाई नियन्त्रण मुक्त गरिएको बताउनु भयो । ‘पत्रकार सम्मेलन गरेर झडप निम्त्याउने अवस्था नहोस भनेर हामीले सम्झाएर पठायौं, सुरक्षा खतरा हुने अवस्थामा प्रशासनसँग समन्वय गर्न भनेका छौं,’ राईले भन्नुभयो ।

प्रहरीले आइतबार शाहीको सुरक्षाका लागि नियन्त्रणमा लिएर परीसरमा राखिएको बताएको थियो । तर प्रहरीमाथि नै अभद्र ब्यवहार गर्नेदेखि मन्त्रीमाथिको दुब्र्यवहार ठीक हो भन्न थालेपछि हिरासतमा राखेको थियो ।