जनता टाइम्स

३ पुष २०८०, मंगलवार ०८:४०

भिजिट भिसाको सेटिङ गरी बिदेश पठाउने धन्दामा माओवादी नेताका आफन्त रहेको खुलासा, यसरी खुल्यो पोल


काठमाडौं, मंसिर ३ । मोटो रकम लिएर भिजिट भिसा सेटिङमा विदेश पठाउने प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत सत्तारुढ नेकपा माओवादी केन्द्र निकट नेताका आफन्त रहेको तथ्य खुलेको छ । भिजिट भिसा सेटिङ प्रकरणमा केही कर्मचारी पक्राउ परेपछि यो तथ्य खुलेको हो ।

अनुसन्धानकै क्रममा प्राप्त तथ्यका आधारमा प्रहरीले अध्यागमन अधिकृत रुकुम निवासी नरवीर खडकालाई पक्राउ गरेको छ । पक्राउ परेका अध्यागमन अधिकृत खड्का माओवादी नेतृ विमला केसीका आफन्त हुनुहुन्छ ।

केसी प्रदेशका पूर्वसांसद र कर्णाली प्रदेशकी पूर्वमन्त्री तथा माओवादी केन्द्र प्रदेश कमिटी अध्यक्ष हुनुहुन्छ।

प्रहरीले थप कर्मचारी पनि यो प्रकरणमा संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ । पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कामाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले अन्य कर्मचारीको समेत मिलेमतो देखिएको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका एयरलाइन्स र अध्यागमनका कर्मचारीले एजेन्टलाई मोटो रकम दिएर सेटिङ गर्ने गरेको पाइएको छ ।

प्रहरीका अनुसार सेटिङमा भिजिट भिसामा पठाएबापत अध्यागमनका कर्मचारीले मात्र प्रतिव्यक्ति ४० देखि ६० हजार रुपैयाँसम्म लिने गरेका थिए । यस प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई महिनादेखि अनुसन्धान गरिरहेको छ ।

यो प्रकरणमा हालसम्म ट्राभल एजेन्सी सन्चालक, एजेन्ट, एयरलाइन्सका कर्मचारीलगायत पक्राउ परेका छन् । एयरलाइन्समा नेपाल एयरलाइन्सका मात्र कर्मचारी पक्राउ परेपनि अन्य ५ वटा एयरलाइन्सका कर्मचारी पनि संलग्न भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार पक्राउ परेका अध्यागमन अधिकृत खड्कासहित गिरोहका सदस्यहरुले एक हप्तामै मोबाइल फेर्ने गरेको देखिएको छ ।