जनता टाइम्स

६ पुष २०८०, शुक्रबार २१:३६

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो न्यूनतम ब्याजदर ९.९९ प्रतिशतदेखि विशेष घर कर्जा योजना


काठमाडौं, पुस ६ । ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा रु. १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा (Home Loan) योजना सार्वजनिक गरेको छ ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका महानुभावहरुले सहज रुपमा कर्जा सार्न (SWAP) सक्ने बैंकले जनाएको छ ।

यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढिको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा रु. १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन् ।

बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रहीे आवश्यक कागजातहरु पेश गरेको ३ कार्य दिनभित्र विना झन्झट कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार ग्राहकहरुले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५५ वटा शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन बैंकले सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध गरेको छ ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै ग्लोवल आइएमई बैंकले वर्षेनी यस्तो सरल दरमा सहज किसिमको कर्जा योजना ल्याउने गरेको छ ।