जनता टाइम्स

२८ पुष २०८०, शनिबार ११:१४

जिल्लाकै उत्कृष्ठ सहकारी बन्यो परोपकार महिला सहकारी


दोलखा, पुस २८ । भीमेश्वर नगरपालिका वडा नं. ६ मा रहेको परोपकार महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ट सहकारी संस्था घोषित भएको छ ।

बिहिबार सम्पन्न जिल्ला वचत तथा ऋण सहकारी संघको २५ औं वार्षिक साधारण सभामा परोपकार महिला सहकारी जिल्लाकै उत्कृष्ट सहकारीको रुपमा सम्मानित भएको हो । बिसं २०६८ सालमा ५० जना महिला शेयर सदस्यहरुबाट शुरु गरिएको संस्थाको वचत, ऋण लगानी, वित्तिय सुशासन लगायतका सुचकहरुलाई आधार मानेर गरिएको मुल्यांकनमा परोपकार महिला साकोस जिल्लाकै उत्कृष्ट सहकारी घोषणा भएको हो ।

सहकारीले आर्थिक, सामाजिक, शैक्षिक हिंसामा पछि परेका वर्गका महिलाको उन्नति तथा विकासमा पहुँच बढाउने, महिला अधिकारको संरक्षणसँगै पिछडिएका महिलाको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउन, महिलामाथि हुने हिंसा न्यूनिकरणका लागि समाजमा जनचेतना फैलाउने कार्यसमेत गर्दै आएको छ । त्यस्तै संस्थाका शेयर सदस्यहरुलाई आयआर्जनका कार्यमा संलग्न गराउन संस्थाले बर्षेनी सीपमुलक तालिमको आयोजना गर्दै आएको छ ।

शेयर सदस्य महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले वर्षेनी फरक फरक तालिम आयोजना गरिएको हन्छ । तालिम पश्चात सिकेका सीपलाई उपयोग गरी उद्दमी बन्न चाहनेलाई कम व्याजदरमा ऋण उपलब्ध गराउने साथै उत्पादित वस्तुको बजार व्यवस्थापनमा सहयोग गर्ने पनि संस्थाले जनाएको छ ।

महिलाहरु मात्रै सदस्य भएको र महिलाहरुले मात्र व्यवस्थापन गर्दै आएको जिल्लाकै उत्कृष्ट महिला सहकारी संस्थामा हालसम्म २ हजार १ सय १४ जना महिला आवद्ध छन् । सहकारीका अध्यक्ष सर्मिला सापकोटाका अनुसार हालसम्म संस्थाको कुल पूँजी १४ करोड ८८ लाख ८३ हजा र ६५ रुपैँया रहेको छ ।

सहकारीमा आवद्ध शेयर सदस्यको निधन भएमा परिवारलाई सहानुुभूति स्वरुप रु ७ हजार रकम उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ । संस्था स्थापना दिवस, सहकारी दिवस लगायतका दिवसहरुमा बालगृहमा सहयोग विद्यालयका गरिव जेहेन्दार विद्यार्थीहरुलाई स्टेसनरी सामग्री वितरण कोरोना माहामारीबाट मृत्यु भएका सदस्यका परिवार, विपतमा परी धन सम्पती गुमाएका समेतलाइ राहत स्वरुप सहयोग जस्ता सामाजिक कार्यमा संस्थाले निरन्तर सहयोग गरेको अध्यक्ष सापकोटाले बताउनु भयो।

यस्तै शेयर सदस्यहरुलाई सहकारीले आयोजना गरेको तालिमको सहयोगले व्यवसायी बन्न प्रेरित गरेको छ । २ वर्ष अघि सहकारीले सिलाई सम्बन्धी सीपको तालिम आयोजना गरेको थियो । तालिममा सहभागीहरुमध्ये धेरैले सिकेका सिपको सदुपयोग गरेका छन् । सहकारीले तालिम दिएर आफ्ना दैनिकी चलाउन सहज भएको महसुस गरेको सिलाई तालिममा सहभागी कविता चौँलागाइले बताउनु भयो । सहकारीले संचालन गरेको यस्ता तालिमले आफ्नो जीवन परिवर्तन भएको बैतेश्वर गाउँपालिका नाम्दु ६ की सरिता घिमिरे बताउनु हुन्छ ।

सहकारीको तालिम पश्चात आफूले टेलर शूरु गरेको र अहिले टेलरसँगै कपडा पसल पनि चलाउदै आएकोले घर व्यवहार चलाउन र आफूलाई चाहिने खर्च श्रीमानसँग माग्न नपरेको उहाँको भनाई छ । पसलबाहेक मासिक १५ देखि १८ हजारसम्म आम्दानी हुने उहाँले जानकारी दिनुभयो । महिलाहरु आर्थिक उन्नतिमा फड्को मार्न सफल होस भन्ने उद्येश्यकासाथ संस्थाले हालसम्म ५ प्रकारका तालिम संचालन गरिसकिएको छ । क्रीष्टल माला, डलकुसन, सिलाई,लेडिज व्याग र गत वर्ष भेलवेट चप्पल बनाउने तालिम सम्पन्न गरिएको थियो ।