जनता टाइम्स

२८ पुष २०८०, शनिबार १७:५६

उद्योगी व्यवसायीलाई पनि राष्ट्रिय मर्यादाक्रममा समेटिनुपर्छ : अध्यक्ष ढकाल


काठमाडौं, पुस २८ । नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरुलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग गर्नुभएको छ ।

शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो माग गर्नुभएको हो । उहाँले आफू निजी क्षेत्रका विभिन्न कार्यक्रममा जाँदा व्यवसायीहरुले मर्यादाक्रमको कुरा उठाएको बताउनु भयो ।

‘निजी क्षेत्रको मर्यादाक्रमको विषयमा गम्भीर रुपले कुरा उठेको छ । सरकारको पैसा खर्च नभइकन, धेरै व्यवसायहरुलाई इन्करेज गरेर उनीहरुको व्यवसायिक एक्टिभिटी बढाउनलाई हौसला प्रदान गर्न सकिन्छ भने त्यस्तो किसिमको चाहे मर्यादाक्रमको कुरा होस्, सीआईपीको कुरा गरौं । सीआईपी पनि प्रत्येक पटक दुई दुई वर्षमा दिने सिस्टम छ तर त्यसको लागि एक वर्षसम्म लविङ नै गर्नुपर्छ,’ ढकालले भन्नुभयो ।

उहाँले उत्कृष्ट व्यवसायी सम्मान (सीआईपी) का क्रममा पनि आफूहरुले धेरै असहज र कठिन परिस्थितिको सामना गर्नुपरेको भन्दै अध्यक्ष ढकालले परिस्थिति सहज बनाइदिन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गर्नुभयो ।

यो सीआईपी गरिदिनुहोस् भनेर हामीले पटक पटक भन्नुपरेको अवस्था छ । यस्ता समस्याहरु जहाँ नेपाल सरकारले खर्च नगरिकन निजी क्षेत्रलाई इन्करेज गर्ने हिसाबका कुरा, चाहे मर्यादाक्रमको कुरा होस्, चाहे सीआईपीको कुरा होस् । चाहे अरु हौसला होस् यस्तो किसिमको चिज अघि बढाउँदा राम्रो हुन्छ’, अध्यक्ष ढकालले भन्नुभयो ।

कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सरकार उद्योगी व्यवसायीहरुलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न सरकार सकारात्मक रहेको जवाफ दिनुभयो । ‘समग्र मर्यादाक्रमकै बारेमा अहिले मन्त्रालय र सरकारको अरु निकायहरुको बीचमा छलफल भइरहेको छ । त्यो बारेमा हामी एउटा टुंगोमा कुन ढंगले हुन्छ, कस्तो प्रकारले हुन्छ टुंगोमा पुग्नेछौं । अहिले छलफलको क्रममा छ’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।