जनता टाइम्स

२९ पुष २०८०, आईतवार ०८:३८

बिष्णु पौडेलको निश्कर्ष : मुलुकको सवै क्षेत्र बर्वाद भयो, सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित रह्यो


रुपन्देही, पुस २९। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित रहेको तथ्य राख्नुभएको छ ।

जनताका समस्या समाधानप्रति सरकारले कुनै चासो र ध्यान नदिएको बताउँदै पौडेलले सरकार सत्ता र शक्ति बचाउनमा मात्र सरकार लागिपरेको बताउनु भयो ।

शनिवार बुटवलमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीको २१ औँ साधारण सभा तथा १० औँ अधिवेशनको उद्घाटन गर्दै नेता पौडेलले देशका तमाम समस्या समाधान गर्न वर्तमान सरकारले नसक्ने बताउनु भयो । ‘वर्तमान सरकार, जनताका मुद्दा, चासो, समस्याका विषयमा सरकार जानकार छैन जनताका समस्या समाधान गर्न एमाले नेतृत्वको आवश्यक छ,’ पौडेलले भन्नुभयो ।

पौडेलले बढ्दो विज्ञान र प्रविधिको भरपुर उपयोग गर्दै त्यहीँ अनुसार नयाँ युवा पुस्ताले अनुसरण गर्दै अघि बढ्नुपर्नेमा जोड पनि दिनुभयो । उहाँले समाजमा पठन संस्कृतिको विकास र विस्तार गर्न जरुरी रहेको बताउनु भयो । नेता पौडेलले पुस्तकालय व्यवस्थित रूपमा सञ्चालन हुने आशा व्यक्त गर्नुभयो । सोही अवसरमा नेता पौडेलले महासंघद्वारा नवनिर्मित राजेन्द्र स्मृति पुस्तकालय भवनको उद्घाटन गर्नुभयो ।

महासंघका केन्द्रीय महासचिव शिवसागर सुवेदीले महासंघको अगुवाइमा समयमै देशका सबै जिल्लाका विद्यार्थीहरूले समयमै पाठ्यपुस्तक पाएको बताउनु भयो । उहाँल् राष्ट्रिय पुस्तक नीति नहुँदा महासंघ अभिभावकविहीनजस्तै भएको बताउँदै यसलाई तत्काल जारी गर्न आग्रह गर्नुभयो ।

जिल्ला अध्यक्ष रामकृष्ण चापागाईँले महासंघले पुस्तकालय व्यवस्थित रूपमा सञ्चालन गर्न आफू नेतृत्वमा नरहे पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।