जनता टाइम्स

२९ पुष २०८०, आईतवार १५:३०

मध्यराति खुकुरी हानेपछि विराटनगरका डन अभिषेक गिरीका सहयोगी पक्राउ


विराटनगर, २९ पुस । युवालाई मध्यराति खुकुरी प्रहार गरेको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर विराटनगर–८ बस्दै आएका विक्रम थपलिया रहेका छन् । शनिबार बिहान राति साढे १ बजे विराटनगर–११ का रोनाल कँडेललाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएको आरोपमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताउनुभयो ।

विराटनगर बसपार्कनजिक खुकुरी प्रहार गरेको सूचना पाएपछि मध्यराति कँडेललाई थपलियाको पञ्जाबाट उद्धार गरिएको दाहालले बताउनुभयो । ‘खुकुरी प्रहार भइरहेको सूचना आएपछि गएको प्रहरी टोलीले कँडेललाई घाइते अवस्थामा उद्धार गरेको हो,’ उहाँले भन्नुभयो । प्रहरीले सँगसँगै थपलियालाई पक्राउ गरेको उहाँले बताउनुभयो । कँडेलको अहिले विराट अस्पतालमा उपचार भइरहेको छ ।

उहाँको टाउकोमा चोट लागेको छ । पक्राउ परेका थपलिया पनि सामान्य घाइते छन् । उनीविरूद्ध ज्यानमार्ने उद्योग कसुरमा आज अदालतमा म्याद थपका लागि लैजाने तयारी भइरहेको दाहालले बताउनुभयो । थपलिया र कँडेल दुबै नेपाली कांग्रेसमा आवद्ध छन् । थपलिया कांग्रेसनिकट रहेका विराटनगरका अभिषेक गिरीका ‘दाहिने हात’ हुन् । उनी आपराधिक दुनियाँमा लामो समयदेखि परिचित छन् ।

थपलिया गिरी जेलमुक्त भएपछि खोलिएको गिरी फाउन्डेसनमा सक्रिय छन् । गिरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारीलाई अपहरण गरेको आरोपमा २०७० सालमा जेल परेका थिए । उनी गत चैतमा सजाय काटेर मोरङ कारागारबाट मुक्त भएका थिए । त्यसयता उनी ‘समाजसेवी’ भेषमा देखिने गरेका छन् । स्रोतका अनुसार बसपार्क क्षेत्रकै होटल बिगमा उनीहरूबीच झगडा सुरू भएको हो ।

होटलको क्यासिनोभित्र झगडा उग्र भएपछि थपलियाले खुकुरी हानेको बताइएको छ । तर, प्रहरीले भने होटलबाहिर घटना हुँदा कँडेललाई उद्धार गरिएको बताएको छ । ‘त्यो क्षेत्रमा धेरै वटा होटल छन्, हामीले सडकबाट उद्धार गरेर ल्याएका हौं,’ दाहालले भन्नुभयो । घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको आशंका छ । प्रहरीले अनुसन्धान गर्दै जाँदा अन्य व्यक्ति देखिए पक्राउ गरिने बताएको छ ।