रामेछाप, १३ असार । रामेछाप जिल्लाको सन् २०२५ को पहिलो ६ महिनाको मानव अधिकारको अवस्था सम्बन्धी समीक्षा कार्यक्रम शुक्रबार मन्थलीमा सम्पन्न भएको छ। कार्यक्रम मानव अधिकार संरक्षण सञ्जाल रामेछाप र अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयुक्त आयोजनामा भएको हो।
मानव अधिकार संरक्षण सञ्जालका संयोजक श्री पाण्डव प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक रामेछापका जिल्ला प्रतिनिधि नवराज पथिकले समीक्षा अवधिमा अभिलेख गरिएका प्रमुख घटनाहरूको विवरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार यो अवधिमा घरेलु हिंसा, जातीय विभेद, बाल अधिकार उल्लङ्घन, धम्की लगायतका १० वटा मानव अधिकारसम्बन्धी घटना अभिलेखीकरण भएका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक कौशल न्यौपानेले समीक्षाको अवधिमा प्रहरीमा दर्ता भएका गम्भीर प्रकृतिका घटनाहरूको विवरण दिनुभयो। उहाँले हत्याका २, आत्महत्या दुरुत्साहनका १, यौनजन्य अपराधका ६, जातीय विभेदका १, र घरेलु हिंसाका ५ वटा उजुरीहरू प्रहरीसमक्ष आएको जानकारी गराउनुभयो। साथै, आत्महत्याका १८ वटा घटनाहरू पनि यथास्थितिमा घटेको उल्लेख गर्नुभयो।
जिल्ला अदालत रामेछापका श्रेस्तेदार मधुसूदन आचार्यले अदालत मानव अधिकारका विषयमा अत्यन्त संवेदनशील रहेको बताउनुभयो। उहाँले न्याय सम्पादनका प्रत्येक प्रक्रियामा मानव अधिकारलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गरिँदै आएको स्पष्ट पार्नुभयो।
सहायक जिल्ला न्यायाधीवक्ता विनीता कपालीले बाल अधिकार र महिला हिंसाका पीडितहरूसँग जोडिएका विषयहरू अहिले मानव अधिकारका दृष्टिकोणले अति संवेदनशील बन्दै गइरहेको बताउनुभयो। उहाँले यस्ता संवेदनशील विषयमा मानव अधिकारकर्मी तथा न्यायिक निकायहरूले अझ गम्भीरताका साथ कार्य गर्नु पर्नेमा जोड दिनुभयो।
नेपाल बार एसोसिएसन रामेछापका अध्यक्ष यादव दाहालले पछिल्लो समय सम्बन्ध विच्छेदका घटनाहरूमा वृद्धि हुँदै जाँदा बाल अधिकारका प्रश्नहरू जटिल बन्दै गएको उल्लेख गर्नुभयो। बाबु-आमाबीचको सम्बन्ध विच्छेदले बालबालिकाले आधारभूत हकबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भइरहेको भन्दै उहाँले यसप्रति गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेलले मानव अधिकारका विषयहरू उठाउँदा कुनै आग्रह वा पूर्वाग्रह नराखी तटस्थ भावनाबाट प्रस्तुत गर्नुपर्ने बताउनुभयो। सामाजिक सद्भावमा असर पुर्याउने किसिमका विषयहरू सावधानीपूर्वक उठान गर्नुपर्नेमा उहाँले मानव अधिकारकर्मीहरूलाई सचेत गराउनुभयो।
नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरेले यस्ता खालका समीक्षा कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिनुपर्ने धारणा राख्नुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले मानव अधिकार उल्लङ्घनका समस्याहरू पहिचान गर्न र समाधानको बाटो खुलाउन सघाउने विश्वास गर्नुभयो।
कार्यक्रममा विभिन्न संघसंस्था, न्यायिक निकाय, पत्रकार, मानव अधिकारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।













प्रतिक्रिया दिनुहोस्