जनता टाइम्स

८ माघ २०८०, सोमबार १८:१०

अन्ततः रविले मागे माफी


काठमाडौं, माघ ८। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अन्ततः मिडियासामू माफी माग्नुभएको छ । सभापति लामिछानेले १२ भाई मिडिया भनी सञ्चार माध्यम र पत्रकारको नामाकरण गरेको विषयमा आज माफी माग्नुभएको हो ।

सोमबार गरेको पत्रकार सम्मेलनमा सभापति लामिछानेले विगतमा आवेगपूर्ण ढंगबाट बोलेको प्रति माफी माग्छु भनेर स्पष्ट रुपमा भन्नुभएको छ । उहाँले आगामी दिनमा पत्रकार र सञ्चार माध्यमसँग नभिड्ने संकेत गर्नुभयो ।

‘तपाईहरुलाई म विनम्रतापूर्वक भन्छु, हामीले एक अर्काविरुद्ध लड्ने होइन,’ आफू विगतमा जस्तो सञ्चार माध्यम र पत्रकारविरुद्ध नबोल्ने जनाउँ दिँदै लामिछानेले भन्नुभयो । उहाँले भन्नुभयो, ‘सनसनीपूर्ण हेडलाइन पाइने हो कि भनेर आउनु भएको होला । त्यस्ता साथीहरुलाई घाटा लाग्ने भयो ।’

उहाँले आफू कान्तिपुरलाई बदनाम गर्न राजनीतिमा नआएको बताउनुभयो । आफ्नो स्वभाव अलि कडा भएको भन्दै उहँले त्यसलाई सच्याउनु पर्ने लाग्न थालेको पनि स्वीकार गर्नुभयो।