पोखरा, १४ माघ । राष्ट्रिय युवा संघ नेपाल, कास्कीको ११औँ जिल्ला अधिवेशन स्थगित भएको छ । अर्जुन पौडेलको अध्यक्षतामा शनिवार बसेको अध्यक्ष मण्डलको बैठकले तत्कालका लागि अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
उद्घाटन सत्र सकिएपछि बन्द सत्र हुन नपाउँदै अधिवेशन स्थगित भएको हो । केही अराजक युवाहरूको समूहले बैठक बसिरहेको पार्टी प्यालेसमा तोडफोड नाराबाजी र वातावरण असहज बनाएको भन्दै अधिवेशन स्थगित गरिएको अध्यक्ष मण्डलले गरेको निर्णयमा उल्लेख गरिएको छ ।
अधिवेशनको उद्घाटन शुक्रवार भएको थियो । अधिवेशनको उद्घाटन एमाले पोलिट ब्युरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालको इन्चार्ज महेश बस्नेतले गर्नुभएको थियो । शुक्रवार उद्घाटन सत्र सकिएको अधिवेशनको शनिवार बन्द सत्र स्थगित गर्ने निर्णय गरेको हो ।
नेकपा एमाले जिल्ला कमिटी सचिव बैनबहादुर क्षेत्रीसहितका पदाधिकारी अधिवेशनका क्रममा अधिवेशन स्थलमा पुग्नुभएको थियो । अधिवेशनमा जिल्ला पार्टी सचिवले अध्यक्ष मण्डलका सदस्यलाई व्यक्तिगत आरोप लगाएको युवा संघको आरोप छ ।
यता जिल्ला कमिटी सचिव क्षेत्रीसहित उपसचिव द्वय दर्शन लामा र नवराज ओझाले राष्ट्रिय युवा संघ नेपालको इन्चार्ज महेश बस्नेतलाई असहमति पत्र पठाउनुभएको थियो ।
युवा सङ्घले अधिवेशनको आयोजक कमिटीमा रहेको विवरण पटक पटक थपघट मनोमानी तवरबाट गर्ने, संगठनको विधि विधानलाई समेत अङ्गीकार नगरी, विधान विपरीत अधिवेशन प्रतिनिधि मनोनीत गर्ने काम भएको आरोप लगाउँदै उहाँहरूले महेश बस्नेतलाई पत्र लेख्नु भएको थियो । त्यसपश्चात् पनि अधिवेशन नरोकिए पछि उहाँहरू अधिवेशन स्थल पुग्नु भएको थियो ।
अध्यक्ष मण्डल गठन गर्दा एकपक्षीय ढंगबाट गरिएकोमा असहमतिको ध्यानाकर्षण मात्र गरिएको एमाले जिल्ला कमिटी उपसचिव दर्शन लामाले बताउनुभयो ।
‘अध्यक्ष मण्डल गठन गर्दा एकपक्षीय ढंगबाट गरिएकोमा असहमतिको ध्यानाकर्षण मात्र हो । त्यसकै आगामी दिनमा त्यस्तो नहोस् भन्नका लागि इन्चार्जलाई ध्यानाकर्षण गराएका हौँ । अधिवेशन नै रोक्ने हाम्रो उद्देश्य होइन,’ उनले भने, ‘समयमा कार्यक्रम सुरु नहुँदा टाढाबाट आएका प्रतिनिधिले विरोध गरेका हुन् ।’
अध्यक्ष मण्डलका अध्यक्ष अर्जुन पौडेलले भने प्रतिनिधिका विषयमा छलफल गर्नुपर्ने भएकाले अधिवेशन स्थगित गरिएको सुनाए । उनले पार्टीका नेताहरूसँग बसेर छलफलपछि अधिवेशनको मिति तोकिने बताए । एमाले जिल्ला कमिटीले भने अधिवेशनको विषयमा कुनै असहमति नरहेको जनाएको छ ।
‘उनीहरू ९सचिव र उपसचिव० को व्यक्तिगत कुरा होला । जिल्ला कमिटीबाट कुनै त्यस्तो निर्णय भएको छैन,’ एमाले कास्कीका जिल्ला अध्यक्ष मनबहादुर गुरुङले भने ।
जिल्ला भरबाट २ सय ६७ प्रतिनिधि अधिवेशनमा सहभागी थिए । अधिवेशन स्थगित भएसँगै केही प्रतिनिधि घर फर्किसकेका छन् । ‘छुट्टीको दिन पारेर अधिवेशन गरेका थियौँ । त्यो समयमा अधिवेशन सकिएन । त्यस कारण कसैलाई अफिस जानुपर्ने, कसैलाई काममा जानुपर्ने भएकाले हालका लागि स्थगित गरिएको हो,’ अध्यक्ष मण्डलका अध्यक्ष पौडेलले भने ।













प्रतिक्रिया दिनुहोस्