दोलखा, माघ २४ । नेकपा एमाले दोलखाको अध्यक्षमा तीन जनाको उम्मेद्वार बनेका छन । एमाले दोलखाका निवर्तमान अध्यक्ष नरबहादुर श्रेष्ठ, पूर्वअध्यक्ष इश्वरचन्द्र पोखरेल र पूर्वसचिव भरतप्रसाद दुलालले अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको हो ।
सदरमुकाम चरिकोटमा जारी दशौं जिल्ला अधिवेशनमा तीन जनाले अध्यक्षमा उम्मेदवारी दिएको निर्वाचन मण्डलले जनाएको छ । श्रेष्ठ र पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रनुभएको छ भने दुलाल प्यानलबिना प्रतिस्पर्धा गर्नुभएको छ ।
पोखरेल, श्रेष्ठ र दुलाल नेकपा एमाले दोलखाको आठौं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा क्रमशः अध्यक्ष, उपाध्यक्ष र सचिवमा चयन हुनुभएको थियो । अध्यक्षका उम्मेदवार नरबहादुर पूर्वसञ्चारमन्त्री पार्वत गुरुङ निकट र इश्वरचन्द्र पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलको समर्थनमा मैदानमा उत्रनुभएको हो ।
त्यसैगरी उपाध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष राजेन्द्र मानन्धर र निवर्तमान सचिव हिरा थोकरको उम्मेद्वारी परेको छ । मानन्धर श्रेष्ठ र थोकर पोखरेल प्यानलबाट उम्मेदवार बन्नुभएको हो । यस्तै सचिवमा श्रेष्ठको प्यानलबाट निवर्तमान एमाले जिल्ला कमिटी सदस्य तथा गौरीशङ्कर गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष सोयमबहादुर खड्का र पोखरेलको प्यानलबाट कानुन व्यवसायीसमेत रहेका एमाले नेता कृष्णबहादुर बस्नेतले उम्मेद्वारी दिनुभएको छ ।
दुईजना उपसचिवको लागि १२ जनाको उम्मेद्वारी परेको छ । खुलातर्फ इश्वर न्यौपाने, विदुर शर्मा, धिरज सुवेदी, गणेश शिवाकोटी, हरि ओली, टपिन्द्र खड्का, लोकबहादुर नेपाली, धन बहादुर तामाङले उम्मेद्वारी दिनुभएको छ । यस्तै महिलातर्फ कमला बस्नेत, मेनुका सुवेदी, गोमा केसी र सीता केसीको उम्मेद्वारी परेको छ ।
नयाँ नेतृत्व चयनका लागि आज विहान १० बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्