ललितपुर, २६ माघ । लगनखेलस्थित मानसिक अस्पतालमा किशोरकिशोरीको मानसिक स्वास्थ्य एकाई औपचारिकरुपमा सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले औपचारिक कार्यक्रमबीच एकाई उद्घाटन गर्नुभएको हो । सिविन–नेपाल र फोरुट-नर्वेसँगको साझेदारीमा सञ्चालनमा आएको एकाईमा किशोरकिशोरीको मानसिक स्वास्थ्य उपचारका लागि वहिरंग र अन्तरंग दुवै सेवा सञ्चालनमा आएको बाल हेल्पलाइन मकवानपुर संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले मानसिक अस्पतालमा सञ्चालनमा आएको मानसिक स्वास्थ्य एकाईं नेपालको मानसिक स्वास्थ्य उपचारको क्षेत्रमा महत्वपूणर् उपलब्धि भएको टिप्पणी गर्नुभयो । एकाईं स्थापनामा सिविन(नेपालको योगदानको प्रशंसा गर्दै मन्त्री बस्नेतले बालबालिकाको स्वास्थ्य क्षेत्रमा नेपाल सरकारको प्राथमिकतालाई सिविनले सघाइरहेको बताउनुभयो ।
बालबलिकाको मानसिक स्वास्थ्यको कुरा गर्दा उपचारात्मकमात्र नभइ रोकथाममा पनि ध्यान दिनुपर्ने भन्दै मन्त्री बस्नेतले बालबालिकाको शिक्षा, पारिवारिक अवस्था, वातावरणमा समेत काम गर्नुपर्ने धारणा राख्नुभयो । सरकारीस्तरबाट सञ्चालित अस्पतालमा किशोरकिशोरीका लागि नेपालकै पहिलो अन्तरंग सेवा सञ्चालनमा आउनुले गौरवबोध गराएको उहाँले बताउनुभयो ।
समारोहमा ललितपुर क्षेत्र नम्बर-२ का संघीय सांसद् प्रेमबहादुर महर्जनले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि आफूले संसद्मा पनि कुरा उठाउने बताउनुभयो । नेपालका लागि नर्वेली राजदूत तोरुन ड्रमडालले नेपाली बालबालिका तथा किशोरकिशोरीको मनोस्वास्थ्य प्रवद्र्धनका लागि फोरुट-नर्वेमार्फत् सहयोगी हुन पाएकोमा नर्वेली सरकार तथा जनताका तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दै नर्वेको सहयोग यस क्षेत्रमा निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाली किशोरकिशोरीका तर्फबाट राष्ट्रिय किशोरी सञ्जाल मधेश प्रदेश सदस्य खुशी चौरसियाले मानसिक अस्पतालपरिसरमा किशोरकिशोरी मानसिक स्वास्थ्य एकाईं स्थापनाबाट समस्यामा परेका किशोरकिशोरी लाभान्वित हुने बताउ“दै उक्त सेवालाई देशव्यापी बनाउनुपर्ने धारणा राख्नुभयो । सिविन–नेपाल कार्यकारी निर्देशक सुम्निमा तुलाधरले संस्थाले बालबालिकाका तथा किशोरकिशोरीको मनोस्वास्थ्य अधिकारका क्षेत्रमा गरेका काम उल्लेख गर्दै मानसिक अस्पतालभित्र किशोरकिशोरी मानसिक स्वास्थ्य एकाईं स्थापनामा सहयोगी हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
सरकारले आउने बजेटमा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य उपचारका लागि आवश्यक दक्ष जनशक्तिको दरबन्दीको व्यवस्था गर्न उहाँले आग्रह गर्नुभयो । मानसिक अस्पताल विकास समिति अध्यक्ष मधुकर तुलाधरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मानसिक अस्पतालका निर्देशक डा. अनन्त अधिकारी, कान्ति बाल अस्पताल बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य विभागका टिमलिडर डा. अरुण कुँवरले पनि आ–आफ्ना विचार राख्नुभएको थियो ।
सिविन-नेपालले सन् २०१५ को ठूलो भुइँचालोलगत्तै कान्ति बाल अस्पतालसँगको सहकार्यमा अस्पताल प्रांगणमा नेपालको पहिलो बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको थियो । बहिरंग सेवा उपलब्ध भए पनि किशोरकिशोरीको मानसिक स्वास्थ्य उपचारका लागि भने मानसिक अस्पतालमा थालिएको अन्तरंग सेवा नेपालको पहिलो हो ।













प्रतिक्रिया दिनुहोस्