परासी, असोज ७
नवलपुरका तीन स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ज्यान गुमाएका ६ जना मध्ये चार जनाको सनाखत भएको छ । पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा २२ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
सोमबार राति करिब १० बजे कावासोतीको खरकट्टा जंगलमा ट्रकले कारलाई ठक्कर दिँदा कारमा सवार पाँचै जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये तीन जनाको सनाखत भएको छ । देवचुली नगरपालिका–१ केउरेनीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विश्वकर्मा, देवचुलीकै दिलबहादुर ढेगा मगर र कैलालीको धनगढी–११ घर भै हाल देवचुली बस्दै आएका सुरज राना मगरको सनाखत भएको प्रहरीले जनाएको छ । अन्यको सनाखत हुन सकेको छैन ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बररको कार कावासोती–८ स्थित खरकट्टा जंगल क्षेत्रमा ठोक्किको थियो । त्यस्तै, सोमबार राति नै दाङबाट काडमाडौं जाँदै गरेको ना ७ ख ८६४२ बस अरूणखोलामा दुर्घटना हुँदा मकवानपुर हेटौडाका बस चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको छ । उक्त दुर्घटनमा १५ जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्