काठमाडौं, फागुन २१ । नयाँ सत्ता समीकरणपछि नियुक्त मन्त्रीहरुको शपथग्रहणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बहिष्कार गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमालेसहितको समीकरण बनाएपछि नियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह देउवा र नेपालले बहिष्कार गर्नुभएको हो । शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवसहित सत्ता गठबन्धनका नेताहरु सहभागी हुनुहुन्थ्यो ।
मन्त्रीको शपथग्रहणमा सबै दलका संसदीय दलको नेतालाई बोलाउने प्रचलन छ । त्यसैबमोजिम देउवा र नेपाललाई पनि राष्ट्रपति कार्यालयले निम्तो गरेको थियो । प्रधानमन्त्री प्रचण्डले आफूहरुलाई धोका दिएको उहाँहरुको आरोप छ । ‘धोका दिएपछि किन जानु ?’ शपथमा नगएको बिषयमा जवाफ माग्दा दुवै नेताको एउटै भनाइ छ । स्रोतका अनुसार देउवा र नेपालले आफूलाई सन्चो नभएको जवाफ राष्ट्रपति कार्यालयमा दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्