जनता टाइम्स

३ चैत्र २०८०, शनिबार १०:४६

बिराटनगर नर्सको हत्या प्रकरण : घटनालगत्तै मृतकका साथीलाई प्रेमीले पठाएका थिए हत्याको म्यासेज


शुक्रबार बिहान मृतक दासको साथीको ह्वाटसपमा घटनास्थलको फोटो पुग्यो । अमिन भनिने प्रेमीको नम्बरबाट आएको म्यासेजमा हत्या गरेको छु भनी लेखिएको छ ।

मोरङ, चैत ३ । विराटनगर महानगरपालिका ४ मा मृत अवस्थामा भेटिएकी २३ वर्षीय युवतीको हत्यामा उनकै प्रेमी संलग्न रहेको पाइएको छ । घटना सार्वजनिक भएलगत्तै प्रेमि भनिएका अमिन धानुक फरार रहेपछि यो तथ्य बाहिर आएको हो ।

प्रहरीले मृतक युवतीका प्रेमी धानुकको खोजी भइरहेको बताएको छ । धिरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा शुक्रबार करिब दिउसो शौचालयमा शव फेला परेको थियो ।

हत्याको जानकारी पाएपछि लगतै प्रहरी घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानबाट युवतीको हत्या प्रेमीबाटै भएको तथ्य खुलेको थियो । सिराहाको फुल्काहकट्टी घर भएकी दास नोबेल मेडिकल कलेजमा कार्यरत थिइन । मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले मृतकको शव हेर्दा बिहीबार नै हत्या भएको जस्तो देखिएको बताउनु भयो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेको गहिरो चोट रहेको छ ।

प्रहरीका अनुसार बिहीबार दिनभर दास बस्ने कोठामा बाहिरबाट चाबी ललाइएको थियो । तर, शुक्रबार बिहान सोही घरमा बस्ने मृतक दासको (शंकास्पद व्यक्तिको पनि) साथीको ह्वाटसपमा घटनास्थलको फोटो पुग्यो । अमिनको नम्बरबाट साथीलाई आएको म्यासेजमा हत्या गरेको छु भनी लेखिएको छ । म्यासेज आएपछि मृतक दासकी साथीले उनको घरबेटीलाई जानकारी गराएकी थिइन ।

शुक्रबार दिउँसो करिब १२ बजे घरबेटीले चाबी खोलेर हेर्दा विभत्स अवस्थामा शव देखेपछि त्यसपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानमा संलग्न प्रहरीहरुका अनुसार हत्या गरेका व्यक्तिले दासको साथीलाई घटनास्थलको फोटोसमेत पठाएका थिए ।

ह्वाटसपबाट अमिनले नै पठाएको हो कि अरु कसैले उनको नम्बर प्रयोग गरेर पठाए भन्ने बिषयमा अनुसन्धानका जारी रहेको प्रहरीले बताएको छ । मृतक दासका प्रेमी अमिन पनि स्वास्थ्यकर्मी हुन । उनी सिराहामा नै काम गर्छन ।