जनता टाइम्स

४ चैत्र २०८०, आईतवार ०४:४६

प्रतिनिधि सभामा नाराजुलुस चलिरहँदा राष्ट्रिय सभामा जुट्यो राष्ट्रिय सहमति


सत्ता गठबनधन परिवर्तन भएसँगै प्रतिनिधिसभामा नाराजुलुस र अवरोध चलिरहँदा माथिल्लो सदन राष्ट्रियसभामा भने राष्ट्रिय सहमति जुटेको छ । कांग्रेसप्रति सत्ता गठबन्धन उदार बनेपछि राष्ट्रिय सभामा राष्ट्रिय सहमति जुटेको हो ।

काठमाडौं, चैत ४ । नेपाली कांग्रेसप्रति सत्ता गठबन्धन उदार बनेपछि राष्ट्रिय सभामा राष्ट्रिय सहमति जुटेको छ । राष्ट्रिय सभाको सरोकार समितिमा नेकपा एमालेका सोनामगेल्जेन शेर्पा र दिगो विकास समितिमा नेपाली कांग्रेसकी कमला पन्त सर्वसम्मत हुनुभएको छ । शेर्पालाई कांग्रेस सांसद र पन्तलाई एमाले सांसदले समर्थन गरेका छन ।

नयाँ सत्ता गठबन्धन निर्माण भएसँगै मुलुकमा राजनीतिक ध्रुवीकरण बढिरहेका वेला माथिल्लो सदन राष्ट्रिय सभामा दलहरू राष्ट्रिय सहमतिका साथ अगाडि बढेका हुन । गत फागुन २१ गते कांग्रेससँगको सहकार्य तोडेर माओवादी केन्द्रले एमालेसहितको गठबन्धन बनाएपछि ध्रुवीकरण बढेको छ ।

एकाएक सत्ताबाट बाहिर हुनु परेपछि आक्रोशमा आएर प्रमुख प्रतिपक्षी कांग्रेसले तल्लो सदन प्रतिनिधिसभा अवरुद्ध गरेको छ । तल्लो सदन, राजनीतिक क्षेत्र तथा विभिन्न निकायमा समीकरण फेरबदलले परिस्थिति परिवर्तन भएका वेला माथिल्लो सदन राष्ट्रिय सभामा भने दलहरूको सहमतिले निरन्तरता पाएको छ ।

सहमतिलाई अगाडि बढाउँदै दलहरूले राष्ट्रिय सभामा रिक्त रहेका संसदीय समितिको सभापतिमा प्रतिस्पर्धा नहुने गरी भागबन्डा गरेर उम्मेदवारी दिएका छन । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा एमालेका सोनामगेल्जेन शेर्पाको उम्मेदवारी परेको छ भने विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कांग्रेसकी कमला पन्तको उम्मेदवारी परेको छ ।

शेर्पालाई माओवादीका गोपीबहादुर सार्की आछामी, एमालेकी इन्दिरादेवी गौतम र कांग्रेसकी दुर्गाकुमारी गुरुङले समर्थन गर्नुभएको छ । यस्तै पन्तलाई कांग्रेसका नारायणदत्त भट्ट र एमालेकी शारदादेवी भट्टले समर्थन गर्नुभएको छ । राष्ट्रिय सभामा एमाले दलका नेता देवेन्द्र दाहालले सभामा राष्ट्रिय सहमति कायम रहेको बताउनु भयो । ‘माथिल्लो सभामा दलहरू एकमत छन, राष्ट्रिय सहमति छ भन्ने प्रष्ट भएको छ,’ दाहालले भन्नुभयो ।

विकास तथा सुशासन समिति सभापति उम्मेदवार पन्तले पनि पहिलेको सहमतिलाई निरन्तरता दिएर अगाडि बढेको बताउनु भयो । ‘राष्ट्रिय सभाका चारवटा समिति चार ठूला दलले बाँडेर लिने सहमति हो । फागुन २० मा एमाले र कांग्रेसले प्रतिनिधित्व गरेको समितिको सभापति पद रिक्त भयो । रिक्त पदमा सहमतिअनुसार एमाले र कांग्रेसबाट उम्मेदवारी परेको हो । राष्ट्रिय सभा विशिष्ट सभा भएकाले सहमतिबाट चलाउनुपर्छ भन्ने सबैको स्पिरिट हो,’ सर्वसम्मत उम्मेद्वारीपछि पन्तले भन्नुभयो ।

यसअघि सरोकार समितिमा एमालेकी पार्वती रावल (दिलकुमारी) र दिगो विकास समितिमा कांग्रेसका प्रकाश पन्थ सभापति हुनुहुन्थ्यो । दुवैको कार्यकाल २० फागुनमा सकिएपछि आइतबार निर्वाचन हुँदै छ । दुवै पदमा सहमतिका आधारमा उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित हुनेछन्। यसअघि समीकरण फेरिँदा राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धन र बिपक्षीबीच चुनाव भएको थियो । गठबन्धनबाट नारायणप्रसाद दाहाल र कांग्रेसबाट युवराज शर्मा भिड्दा दाहाल अध्यक्ष निर्वाचित हुनुभएको छ ।