काठमाडौं, चैत ७ । अर्वपति ब्यापारी एवं नेपाली कांग्रेसका सांसद बिनोद चौधरी कुनैपनि बेला पक्राउ पर्ने देखिएको छ । प्रहरीले चौधरीमाथि छानविन भइरहेको जनाउँदै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई लिखित जानकारी नै गराएर कुनैपनि बेला पक्राउ गर्न सक्ने प्रष्ट पारेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिनिधसभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीमाथि छानबिन भइरहेको विषयमा सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । चौधरीमाथि सरकारी कागजात किर्ते र ठगीमा अनुसन्धान भइरहेको प्रहरीले प्रष्ट पारेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का अनुसन्धान अधिकृत प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले आज सभामुख घिमिरेलाई पत्र लेखेर जानकारी गराउनु भएको हो । सिआइवीको पत्रमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका प्रतिनिधि सभा सदस्य चौधरीबिरुद्ध काठमाडौं महानगरपालिका ३ को कार्यालय र नवराज शर्मासमेतको जाहेरीले अनुसन्धान प्रक्रिया अगाडि बढेको उल्लेख छ ।
’सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा फुटवेयर लिमिटेडका संस्थापक शेयर धनी तथा तत्कालीन संचालक समिति सदस्य संघीय संसद्का माननीय सदस्य श्री विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भई रहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ,’ सभामुखलाई सीआईबीइले लेखेको पत्रमा भनिएको छ ।
नेपाल सरकार वादी रहेको उक्त मुद्दामा अजित नारायणसिंह थापासमेत भएको बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम राखेको काठमाडौं महानगरपालिका वडा नम्बर ३ स्थित १० रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेर सरकारी जग्गा किर्ते गरी ठगी गरेको भन्दै अनुसन्धान भइरहेको हो ।
सोही बिषयमा चौधरीको संलग्नता देखिएपछि सिआइवीले अनुसन्धान अघि बढाएको थियो । सिआइवीले संसद सचिवालयलाई अनुसनधान भइरहेको पत्र पठाएर जानकारी गराएपछि उहाँलाई पक्राउ गर्ने तयारी स्वरुप यस्तो कदम चालिएको रुपमा हेरिएको छ ।













प्रतिक्रिया दिनुहोस्