जनता टाइम्स

८ चैत्र २०८०, बिहीबार १६:३७

सुन्दै अचम्म लाग्ने शाखा अधिकृतको कमाइ, अख्तियारका अनुसन्धान अधिकृत नै चकित


काठमाडौं, चैत ८ । नयाँ शहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । शाखा अधिकृत कार्कीले आर्जन गरेको तीन करोड रुपैयाँभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शाखा अधिकृत कार्की काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौं अन्तर्गत वागमतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय, बौद्धमा कार्यरत हुनुहुन्छ । अतिरिक्त जिम्मेवारीको रुपमा कार्कीले कागेश्वरी मनोहरा, गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना माकलवारीमा खटिई काम गर्दै आउनु भएको छ ।

शाखा अधिकृत कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा कार्की सार्वजनिक सेवा प्रवेश गरेको २०५८ साउन १६ गतेदेखि २०७९ चैत ३० गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी आयव्ययको विश्लेषण गरी मुद्धा दायर गरेको हो ।

आयोगले कार्कीको आयतर्फ निजको पारिश्रमिक बचत, भत्तावापतको वचत, जग्गा बिक्रीवापतको आय, सापटी फिर्ता पाएको रकम, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दातमा प्राप्त ब्याज, घर तथा जग्गा वहाल आय र बैंकबाट लिएको ऋण गरी कुल आम्दानी ३ करोड ७७ लाख १३ हजार ६४६ रहेको पाइएको जनाएको छ ।

कार्कीले घर तथा जग्गा खरिदमा भएको खर्च, सम्पत्ति, अध्ययन खर्च, घर–जग्गा रजिष्ट्रेसनवापतको खर्च, बैंक ऋणको साँवा र व्याज भुक्तानी, बीमा प्रिमियम भुक्तानी, स्कुटर खरिद, गरगहना खरिद, घरजग्गा वहाल कर, शेयर खरिद, सापटी तथा बैनावापत दिएको रकम र बैंक तथा वित्तीय संस्थामा रहेको रकम मौज्दात गरी ६ करोड ९८ लाख ४६ हजार ६०३ खर्च तथा लगानी गरेको देखिएको थियो ।

त्यसमध्ये ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ बराबरको सम्पत्तिको बैधानिक स्रोत नखुलेको अख्तियारले जनाएको छ । स्रोत नखुलेको रकम बराबर बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले गैरकानूनी रूपमा आर्जन गरेको पैसाबाट छोरी र श्रीमतीको नाममा जग्गा र सम्पत्ति खरिद गरेको पाइएको छ ।

उक्त जग्गा र सम्पत्ति जफत एवं असुलउपर गर्ने प्रयोजनका लागि पत्नी र छोरीलाई समेत प्रतिवादी बनाइएको जानकारी पनि अख्तियारले दिएको छ । शाखा अधिकृत कार्कीको कमाइ देख्दा अख्तियारका अनुसन्धान अधिकृत नै चकित परेका थिए ।