काठमाडौं, चैत ९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्वपति ब्यापारी बिनोद चौधरीको समुहले हडपेको काठमाडौंको बाँसबारीस्थित छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले आज चाँदबाग रेसिडेन्सीको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो । भूमि व्यवस्था मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छबिलाल नेपालीले सो जग्गा सरकारको नाममा ल्याइएको बताउनु भयो ।
‘मालपोत ऐन २०३४ को दफा २४ अनुसार यो जग्गा नेपाल सरकारको भएको ठहर गर्दै सरकारको नाममा ल्याएका छौं,’ नेपालीले भन्नुभयो । कानूनअनुसार सरकारको जग्गाको हक हस्तान्तरण गर्दा मन्त्रिपरिषद्को निर्णय वा सरकारको स्वीकृति चाहिन्छ । तर बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा तत्कालीन च्याम्पियन फुटवेयरको नाममा लैजाँदा मन्त्रिपरिषद्ले निर्णय गरेको थिएन ।
सोही कारण मालपोत कार्यालयले आफै सरकारको नाममा ल्याउने निर्णय गरेको हो । डिल्लीबजार मालपोतको यो निर्णयसँगै बिनोद चौधरी समुहको खेल समाप्त भएको छ । बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्षको निर्णयको भरमा २०४४ भदौ ६ गते ६ रोपनी र मंसिर १८ मा थप ४ रोपनी गरी कित्ता नम्बर ५० को १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा लगिएको थियो ।
सो जग्गाको बिषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । त्यसक्रममा चाँदबाग रेसिडेन्सीका सञ्चालक अरुण चौधरी लगायतलाई १८ फागुनमा पक्राउ समेत गरेको थियो । उहाँहरु अदालतको आदेशमा छुटनुभएको छ । सीआईबीको अनुसन्धान भने जारी छ । बिहीबार मात्र नेपाली कांग्रेसका सांसद चौधरीसँग बयान लिएको थियो ।
जनताटाइम्स डटकमलाईप्राप्त कागजातले बाँसबारी छाला तथा जुत्ता कारखाना हडप्ने चौधरी समुहले लामो प्रयाश गरेको देखिन्छ । सो कारखाना घाटामा गएको प्रतिवेदन बनाउनेदेखि जग्गा हडप्नेसम्मको खेलमा चौधरी समुह लागेको तथ्य देखिएको हो । चौधरी समुहकै योजनामा घाटामा देखाएर बाँसबारी छालाजुत्ता कारखानाको ८३ रोपनी जग्गामध्ये १० रोपनी जग्गा बिक्री गर्ने निर्णय गरिएको तथ्यसमेत भेटिएको छ ।
बिक्रि गरिएको सोही जग्गा ‘च्याम्पियन फुटवेयर लिमिटेड’ नामको कम्पनीले खरिद गरेको थियो । त्यसबेला सो कम्पनीका सञ्चालकमा विनोद चौधरी, अरूण चौधरी, लुनकरणदास चौधरी, बसन्त चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्