होलीलाई मर्यादित र ब्यवस्थित बनाउन प्रहरीले काठमाडौं उपत्यकामा मात्रै पाँच हजार सुरक्षाकर्मी खटाएको छ । होली लक्षित सुरक्षाका लागि काठमाडौं उपत्यकाका तीन जिल्लामा आज बिहानैदेखि सो संख्यामा सुरक्षाकर्मी आज बिहानदेखि साँझसम्म परिचालन गरिएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले होलीमा उच्छृंखल गतिविधि नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रहरी परिसरमातहत रहेका सुरक्षाकर्मी खदाइएको जनाएको छ । त्यसबाहेक काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट पनि सुरक्षाकर्मी परिचालन भएका छन । महानगरीय ट्रापिक प्रहरी कार्यालयका अनुसार ट्राफिक कार्यालयबाट मात्रै नौ सयभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।
सो कार्यालयका अनुसार होली पर्व मनाउने क्रममा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यका प्रवेश गर्ने नाकाहरू र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाइएको छ । यस्तै ३० वटा मोबाइल भ्यान परिचालन गरी आवश्यकताबमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्टसमेत राखिएको छ । सोही याजनाअनुसार दुर्घटनारहित होली पर्व मनाउन र उच्छृंखल गतिविधि नियन्त्रणका लागि मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गरिएको छ ।
प्रहरीले अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाई गरी ठूलो आवाज निकाल्ने, मोटरबाइकमा तीनजना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल कुदाउनेमाथि विशेष निगरानी हुने जानकारी दिएको छ । विशेष गरी मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाइएको छ ।
यस्तै अनुमतिविना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्नेलगायत गतिविधि गर्नेलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिएको छ । प्रहरीले उपत्यकाको होलीलाई उत्सवको रुपमा मनाउन र अर्काको अधिकारमाथि हस्तक्षेप र अमर्यादित काम नगर्नसमेत चेतावनी दिएको छ ।













प्रतिक्रिया दिनुहोस्