पोखरा, चैत ११ । नेकपा एमालेको कास्कीको अधिवेशनमा प्यानलगत रुपमा नै प्रतिस्पर्धा हुने देखिएको छ ।
गण्डकीमा सदाबहार आफ्नो पकड कायम राख्दै आउनुभएका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीले आफ्नो समुहगत उम्मेद्वारीको गृहकार्य अन्तिम चरणमा पुर्याउनु भएपछि कास्कीमा समुहगत चुनाव हुने भएको हो ।
कास्कीमा यसपटक पनि एमाले उपमहासचिव गुरुङ र स्थायी कमिटी सदस्य अधिकारीबीच प्रतिष्ठाको लडाईं बनेको छ । अधिवेशनमा उपमहासचिव गुरुङ र स्थायी कमिटी सदस्य अधिकारी आफै सक्रिय नबने पनि आफू निकटका नेतालाई मैदानमा उतार्नुभएको छ ।
अधिकारी समुहबाट स्वयं स्थायी कमिटी सदस्य थममाया थापा र कृष्ण थापा समुहगत रुपमा एकपक्षमा लाग्नुभएको छ भने गुरुङ समूहबाट जगत विश्वकर्मा, भीम कार्कीले नेतृत्व गरिरहनु भएको छ । गण्डकी अहिलेसम्म अधिवेशन भएका २ जिल्लामध्ये म्याग्दीमा सर्वसम्मत रुपमा कमिटी चयन भएको थियो भने गोरखामा चुनावै भएर गुरुङ समूहको वर्चश्व देखिएको थियो । गण्डकीका ११ जिल्लामध्ये अधिवेशन हुने कास्की तेस्रो जिल्ला हो ।
खगराज समूहबाट अध्यक्षमा हालको सचिव बैनबहादुर अधिकारी र सचिवमा उपसचिव दर्शन लामाले उम्मेदवारी दिने पक्काजस्तै भइसकेको छ । यी दुबै उम्मेदवार खगराज समूहका सबैभन्दा बलिया बन्ने विश्लेषण नेताहरुको छ ।
यता उपमहासचिव गुरुङको समुहबाट अध्यक्षमा अहिलेका उपाध्यक्ष तेजनारायण अधिकारी र नेता माधव बास्तोलाले दाबी गरिरहेका छन । उपाध्यक्ष रहेका तेजनारायणलाई दिँदा पार्टी कार्यकर्ताको भावना उहाँप्रति बढ्न सक्ने र बास्तोलालाई दिँदा युवा मत आउन सक्ने विश्लेषण गर्दै यो समूहले टुंगो लगाइसकेको छैन । यस्तै सचिवमा सुरेन्द्र गुरुङको सम्भावना देखिएको छ ।
बर्तमान अध्यक्ष मनबहादुर गुरुङका अनुसार अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव दुई गरी ५ पदाधिकारीसहित १२० सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । त्यसपछि थप १० प्रतिशत मनोनित र थप १० प्रतिशत अन्य पार्टीबाट आएकाहरूलाई समेटेर १४१ सदस्यीय कमिटी बन्ने छ ।
यसअघि २०७८ सालमा भएको जिल्ला अधिवेशनमा पनि प्यानलगत रुपमा नै प्रतिस्पर्धा भएको थियो । २०७८ पुस २८ गते भएको निर्वाचनमा उपमहासचिव गुरुङको समूहबाट अध्यक्ष मनबहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी र अधिकारी समूहबाट सचिव बैनबहादुर अधिकारी क्षेत्री, उपसचिव नवराज ओझा र लेखबहादुर तामाङ (दर्शन लामा) विजयी हुनुभएको थियो । २०७९ को स्थानीय तहको निर्वाचन हुँदै एमाले गण्डकीको प्रथम अधिवेशनसम्म आइपुग्दा दुईबीचको प्रतिस्पर्धा निकै पेचिलो र निषेधकै तहमा देखिएको थियो ।
गत असोजमा भएको गण्डकी अधिवेशनमा गुरुङ र अधिकारी समूहले प्यानलै बनाएर प्रतिस्पर्धामा जाँदा अध्यक्ष र पदाधिकारीसहित अधिकांश सदस्यमा अधिकारी समुह पराजीत भएको थियो । गण्डकीको अधिवेशनमा अधिकारी समुहतिर लाग्दा निकै आसलाग्दा युवा नेतासमेत पराजीत हुनुपरेको थियो ।
यही अवस्था कास्की जिल्ला अधिवेशनमा पनि देखिएको छ । अधिवेशनको प्रतिनिधि छनोटमै दुई समुहबीच विवाद देखिएको थियो । गुरुङ पक्षका एमाले कास्की अध्यक्ष मनबहादुरले सुरुको ४० जनामा १ प्रतिनिधि र त्यसपछि प्रत्येक २१ जनामा थप एक प्रतिनिधि ल्याउने गरी सर्कुलर जारी गर्नुभएको थियो । पार्टीले पहिलो आधार ४० मान्ने र त्यसपछि पनि थप ४० जनामै अर्को प्रतिनिधि ल्याउने गरी गरेको निर्णयविपरीत सर्कुलर जारी गरिएको भन्दै स्थायी कमिटी सदस्य तथा कास्की इन्चार्ज थममाया थापा संगठन बिभाग गुहार्दै केन्द्रमै उजुरी लिएर पुग्नुभएको थियो ।
उहााको उजुरी सुन्दै बिभागले चैत ३ गते प्रतिनिधि छनोट प्रक्रिया स्थगित गर्दै फेरि बैठक बसेर विवाद टुंग्याउन परिपत्र गरेको थियो । परिपत्रपछि मध्यमार्गी रुपमा पहिलो आधार ४० जनालाई मान्ने र त्यसपछि प्रत्येक ३० जना बराबर थप १ प्रतिनिधि आउने सहमतिपछि शनिबार महासचिव शंकर पोखरेलले अधिवेशनको उदघाटन गर्नुभएको छ । अधिवेशनको अहिले १४ सदस्यीय अध्यक्षमण्डल बनाएर बन्दसत्र चलिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्