जनता टाइम्स

९ आश्विन २०७६, बिहीबार १५:२६

अर्थमन्त्री खतिवडाले सुझाए समृद्धिका स्थानीय तहले गर्नैपर्ने यी काम, भूउपयोग नीति बनाउनसमेत सुझाव


रुपन्देही, असोज ९ । अर्थमन्त्री डा. युवराज खतिवडाले नीजि क्षेत्रसँग सहकार्य गर्न स्थानीय तहलाई सुझाव दिनुभएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ मा आफ्नो धारणा राख्दै अर्थमन्त्री खतिवडाले नगरको विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सुझाव दिनुभएको हो ।

उहाँले नगरको आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य र परिपुरकको प्रक्रिया अगाडि बढाएर समृद्धिको यात्रा तय गर्न आग्रह गर्नुभयो । उहाँले स्थानीय तहमा भूउपयोग नीति बनाउनसमेत सुझाव दिनुभयो । सार्वजनिक यातायातको व्यवस्थाका लागि तिलोत्तमा नगरसँगै अन्य नगरलाई जोडेर सरकारले मेगा सिटीको अवधारणा अगाडि बढाएको भन्दै यो योजना पूरा गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

सम्मेलनमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले लगानीलाई उत्साहजनक ढङ्गले अगाडि बढाउन नसकिएको धारणा राख्नुभयो । ‘लगानीकर्ता जुन उत्साहपूर्ण तरिकाले आउनुपर्ने हो आएका छैनन, प्रतिफल नपाई कसैले लगानी गर्दैन, लगानीमैत्री वातावरणका लागि नीति अलि खुकुलो बनाउन जरुरी छ,’ उहाँले भन्नुभयो ।

मुख्यमन्त्री पौडेलले स्थानीय तहले इमान्दारीताका साथ काम नगरे सङ्घीयतामाथि प्रश्न उठने भएकाले सबै जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनुभयो । ‘नयाँ कामको थालनी आजको आवश्यकता हो, हामीले व्यवस्था परिवर्तन गर्यौ तर आफूलाई परिवर्तन गर्न सकेनांै भने परिवर्तनको अर्थ हुदैन, तसर्थ देश र जनताप्रति बफादार बनांै ।’ उहाँले उत्साहपूर्ण तरिकाले शुरु गरिएको तिलोत्तमा लगानी सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा लगानी भित्र्याउन लगानीमैत्री नीति जरुरी रहेको बताउनुभयो । लगानीमैत्री नीति र सुरक्षाको महशुस भएमात्रै लगानीकर्ता आउने भएकाले उपयुक्त वातावरण निर्माण गर्न सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘मुलुकको समृद्धि र लगानीमैत्री वातावरण निर्माण गर्न केन्द्रिकृत मानसिकता त्याग्न जरुरी छ,’ उहाँले भन्नुभयो । उहाँले सङ्घका केही नीति र कानूनका कारण लगानीको वातावरण बन्न नसकेको बताउँदै उहाँले नीति सच्चाएर लगानीका आधार खडा गरेर लगानीकर्तालाई लगानीको प्रतिफल पाउने अवस्था सिर्जना गर्न सरकारलाई सुझाव दिनुभयो ।